काठमाडौं। बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डा.अजयक्रान्ति शाक्यले प्रहरी प्रशासनलाई अझ चुस्त बनाएर अपराधको अन्त्य नै गर्न निर्देशन दिएका छन्। बागमती प्रदेश प्रहरी प्रमुख डीआईजीपी प्रकाशजंग कार्कीले पेश गरेको बस्तुस्थिति प्रतिवेदन बुझ्ने क्रममा मन्त्री डा.शाक्यले उक्त निर्देशन दिएका हुन्।

मन्त्री डा.शाक्यले आपराध हुनुमा मानिसको मानसिकता र वातावरण निर्भर हुने भएकाले सोहीअनुसार रणनीति बनाउन समेत आग्रह गरेका छन् । मानसिक रुपमै चेतनशील, विवेकशील, करुणामैत्री भावनाले भरिपूर्ण अब्बल नागरिक बनाउन सकेमा मात्र सुखी नेपालीको अभियान सफल हुनेछ तर्क पनि मन्त्री डा.शाक्यको रहेको छ।

मन्त्री डा.शाक्यले आन्तरिक ममिला मन्त्रालयले आगामी दिनमा बजेट निर्माण गर्दा प्रदेश प्रहरीसँग सम्वन्वय गर्ने प्रतिवद्धता व्यक्त गर्दै अपराध न्यूनीकरण गर्ने र आदर्श समाज निर्माण गर्ने सन्दर्भमा प्रदेश प्रहरीलाई आवश्यक सहयोग गर्ने बताएका छन्। ‘नैतिक शिक्षा र नागरिक चेतना अभिबृद्धि गर्ने शिक्षा विद्यालयस्तर देखिनै पढाउने सिकाउने गर्नुपर्दछ,’ मन्त्री डा.शाक्यले भने, ‘नैतिक आचरण राम्रो भयो र मेरो कारणले अरुलाई दुःख/अप्ठेरो हुनु दिनु हुँदैन भन्ने भावना, आचरण र व्यवहार अभिबृद्धि गर्न सकियो भयो भने मात्रै समाजमा अपराध, विकृतिजन्य व्यवहार जस्ता कुराहरु आफैँ कम भएर जान्छन् ।’ स्रोत साधनको पर्याप्तता नभएपनि भएको भएकाको उपयोग गरेर अपराध न्यूनीकरण गर्न, दूर्घटना न्यूनीकरण गर्न र कानुन कार्यान्वयन गर्न बागमती प्रदेश प्रहरीलाई आग्रह गरेका छन्।

प्रहरी प्रमुख कार्कीले वागमती प्रदेश प्रहरी कार्यालयको वस्तुस्थिति प्रतिवेदन प्रस्तुत गर्दै अपराध रोकथाम तथा नियन्त्रणका लागि जनचेतनामुलक कार्यक्रम गर्न स्रोत परिचालनको व्यवस्था गर्नुपर्ने, अत्याधुनिक डिजिटल चेकपोइन्ट निर्माण गर्नुपर्ने, प्राकृतिक स्रोत–साधनको अबैध दोहन रोक्न सरकोकारवालासँग समन्वय गरी नियन्त्रण गर्ने जस्ता कुरामा मन्त्रालयबाट उल्लेख्य सहयोगको अपेक्षा गरेको बताए। डीआईजीपी कार्कीले प्रदेशका १० जिल्ला (काठमाडौं, भक्तपुर र ललिलपुर बाहेक) आफ्नो कार्यक्षेत्र रहेको भन्दै बागमती प्रदेश प्रहरीले सबै जिल्लामा पूर्वाधार विकास विस्तार गर्दै गरेको जानकारी दिएका थिए।

प्रकाशन मिति–२०७८ साल भाद्र २८ गते सोमवार ।