काठमाडौं। नेपालमा महिला दिदीबहिनीहरुको स्वरोजगार तथा सीपमूलक व्यवसायको रुपमा मानिएको व्युटीपार्लर व्यवसाय कोरोनाभाइरस (कोभिड–१९) कारण अरु व्यवसायलाई जस्तो यो व्यवसायलाई पनि मारमा पारेको छ।

विभिन्न आकर्षक डिजाइनमा कपाल कटाउन, फेसियल गराउन, कपाल कलर गराउन लगायतका मेकअप गर्न प्राय महिला दिदीबहिनी सैलुन अर्थात व्युटीपार्लर धाउनै पर्छ। तर, अहिले कोरोनाका कारण यो व्युटीपार्लर व्यवसाय संकटमा परेको छ।

कपाल काट्ने एक सिपमूलक व्यवसाय हो। आफ्नो सिप प्रयोग गरेर व्यवसाय सञ्चालन गर्ने महिला दिदीबहिनीहरू अहिले विचल्लीमा छन्। परिवार पाल्न, घरधनीलाई भाडा बुझाउन र कामदारलाई मासिक तलब दिन ठूलो समस्या परेको व्युटीपार्लर व्यवसायी तथा ख्यातिप्राप्त व्युटीथेरापिष्ट लक्ष्मी थापाको गुनासो छ। कोभिडले व्युटीपार्लर व्यवसाय धराशयी बनाएको थापाको ठहर रहेको छ।

काठमाडौंको बौद्धस्थित लाभिज व्युटी लञ्ज एण्ड ट्रेनिङ सेन्टर नामवाट अत्याधुनिक सुविधासंपन्न व्युटीपार्लर सञ्चालन गर्दैआएकी थापाको गत २०७६ चैत ११ गतेदेखि नेपलामा भएको लकडाउनका कारण व्यवसाय बन्द छ। व्यवसाय बन्द भएपछि व्युटीथेरापिष्ट डिप्रेसन होला भन्ने पीरले श्रीमान सन्दीप श्रेष्ठको सल्लाहमा योगामा लागेकी हुन।

काठमाडौंको बूढानिलकण्ठ स्थित शिव् तत्व योग स्कुलवाट दुई महिनामा नै योगाथेरापीमा पोख्त वनेकी लक्ष्मी थापाको अवको सोच व्युटीपार्लर व्यवसायको अलावा योगा स्कुल खोल्ने पनि हो । कोरोना कहरले बैकल्पिक व्यवसाय रोज्न आफूहजस्तो व्युटीपार्लर व्यवसायीहरु बाँध्य बन्नुपरेको तितो यथार्थता पनि थापाले ओकलेकी छन्।

त्यस्तै पीडा, जुम्ल्याहा व्युटीपार्लर व्यवसायी दिदीबहिनी गंगा ज्योँ श्रेष्ठ र जमुना ज्योँ श्रेष्ठको पनि रहेको छ। गंगा र जमुनाको काठमाडौंको नयाँबजार खुसिँबु र चमतीमा रहेको छ। दुवैको व्युटीपार्लरको नाम रिफ्रेस व्युटीपार्लर तथा ट्रेनिङ सेन्टर हो। व्युटीपार्लर व्यवसाय बन्द जस्तो नै भएको कारण होम व्युटी सर्भिस तथा फोटोग्राफी मेकअपमा सिमित बन्न पर्दा ज्यादै कठिन भएको वताउने गंगा–जमुना व्युटीपार्लरको भाडा तिर्न नै ज्यादै गाह्रो भएको समस्या सुनाउंछन्।

प्राय व्युटीपार्लर व्यवसायीहरुको एउटै समस्या रहेको छ। त्यो हो–एकातिर आफूहरुको रोजगारी गुम्नु तथा व्युटीपार्लरको घरभाडा तिर्न नै कठिनाइ हो। यो कठिनाइ दूर गर्न कतिपय व्युटीपार्लर व्यवसायीहरुले सरकारले तोकिएको मापदण्डमा रहेर सेवा दिने प्रयास गर्दा पनि व्युटीपार्लर–सैलुन व्यवसाय खुलाउन सरकारले खासै पहल नगरेको कारण समस्या भएको सवै व्युटीसियनहरुको गुनासो रहेको छ।

केही समयअघि लकडाउन खुला भए पनि संक्रमण बढ्दा सरकारले व्युटीपार्लर व्यवसाय सञ्चालनमा रोक लगाएको छ। व्युटीपार्लर सैलुन सिप सिकेका नेपालीले नेपालमा मात्रै होइन, वैदेशिक रोजगारीमा समेत राम्रो कमाइ गर्ने गरेका छन्। व्युटीपार्लर सैलुन व्यवसाय बन्द भएपछि सर्वसाधारण मर्कामा परेका छन्। उनीहरुले चिनजानका व्युटीपार्लर व्यवसायीको घरमा या उनीहरुलाई घरमा नै बोलाएर सेवा लिने गर्ने कार्य गर्न थालेका छन्।
प्रकाशन मिति–२०७७ साल भाद्र ६ गते शनिवार ।