काठमाडौं। अमेरिकामा अध्ययनरत नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश गरेका छन्। जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै दिवेशले टप १० मा आफ्नो स्थान बनाएका हुन्।

अमेरिकन आइडलको अडिसनदेखि नै दिवेशले निर्णायकहरुको तारिफ पाउँदै आएका थिए। त्यो क्रम हालसम्म जारी छ। दिवेशलाई टप ५ को दावेदारका रुपमा हेरिएको छ। अमेरिकन आइडलमा उनले आफूलाई ‘अर्थर गन’ नामले चिनाएका छन्।
टप १० मा छनोट भएपछि दिवेशले आफ्ना समर्थकहरुलाई धन्यवाद दिएका छन्। उनले फेसबुकमा स्टाटस लेख्दै संसारभरबाट आफूलाई ठूलो माया र हौसला प्राप्त भइरहेको उल्लेख गरेका छन्।

सन् २०१४ मा उच्च शिक्षा अध्ययनका सिलसिलामा अमेरिका गएका दिवेश संगीतमा समर्पित भएर लागेको दुई वर्ष मात्रै भयो। काठमाडौंको एस कलेज इन्स्टिच्यूटमा व्यवस्थापनमा प्लस टु उत्तीर्ण गरेपछि उनी अमेरिका गएका थिए। अमेरिकन आइडलमा दिवेशको फ्यान फलोइङ उच्च रहेको छ। कोरोनाभाइरस त्रासका कारण आइडलका प्रतिस्पर्धीहरुले घरबाटै प्रस्तुति दिएका थिए।

https://www.youtube.com/watch?v=9Gz83cHPqgE&feature=emb_logo

 

प्रकाशन मिति–२०७७ साल बैशाख २२ गते सोमवार ।