काठमाडौं। विगत तीन महिना देखि कोरोनाको महामारीको कारण बन्द भएको विद्यालय अव क्रमिक रुपमा खुल्ने भएको छ। कोरोना संक्रमणमा कमी आएयता केही स्थानीय निकायले भौतिक रुपमा विद्यालय खुलाउने कार्य भएको हो।

भौतिक उपस्थितिमा पढाई जति प्रभावकारी हुने गरेको छ। त्यति अनलाइन क्लास प्रभावकारी नभएको कारण पढ्ने विद्यार्थी र पढाउने शिक्षकहरुलाई पनि अत्यन्त कठिन भैरहेको वर्तमान अवस्थामा स्वास्थ्यमापदण्ड कायम गरेर भौतिक रुपमा विद्यालय संचालन गर्नु आवश्यक नै भैसकेको तथ्यलाई मध्यनजर गरेर भाद्र १५ गते मंगलवारवाट काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले विद्यालय खोल्ने हिम्मत गरेको छ।

संक्रमण दर अत्यन्तै न्यून रहेकाले विद्यालय सञ्चालन गर्ने नगरस्तरीय निर्णय गरिएको गोकर्णेश्वर नगरपालिकाका प्रशासकीय प्रमुख रामप्रसाद आचार्यको भनाई छ। त्यस्तै, सप्तरी, पर्सालगायत अधिकांश जिल्लामा पनि भौतिक उपस्थितिमा नै पठनपाठन शुरु भएको छ।

भौतिक दुरी कायम गर्ने–गराउने तथा आवश्यक सुरक्षा मापदण्ड अपनाउने काम विद्यालयले नै गर्नुपर्ने स्थानीय निकायले नियम राखेको छ। विद्यालयले स्वास्थ्य र सुरक्षाको भरपर्दो र विश्वासिलो वातावरण बनाउनुपर्ने पनि भनिएको छ। मापदण्ड पालना नगर्ने विद्यालयललाई कारबाही गरिने बताएको छ।

कक्षा ६ देखि १२ सम्म भौतिक उपस्थितिमा सञ्चालन गराउँदै आएको वीरगन्ज महानगरपालिकाले आगामी सातादेखि कक्षा १ देखि भौतिक रूपमा पठनपाठन गरिने मेयर विजयकुमार सरावगीको भनाई छ।

प्रकाशन मिति–२०७८ साल भाद्र १५ गते मंगलवार ।