काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले १६ वर्षको गाली आफूले खानुपरेको गुनासो गरेका छन्। मेयर शाक्यले दुई वर्षका लागि फोहोर व्यवस्थापनका लागि भनेर लिइएको नुवाकोटको सिस्डोलमा १६ वर्षदेखि फोहोर राखिएकाले १६ वर्षको गाली आफूले खानुपरेको पीडा पोखेका हुन्।

मेयर शाक्यले भने, ‘काठमाडौंको फोहोरको समस्या लामो समय भइसक्यो । पहिला मुलपानीमा पनि व्यवस्थापन गर्दा यस्तै समस्या थियो । मुलपानीबाट हामीले विष्णुमति किनारमा पनि फोहोर व्यवस्थापन गर्यौं । त्यसपछि हामी सिस्डोल गयौँ । सिस्डोल गइसकेपछि पनि हामीले २ वर्षको भनेर लियौँ । अब १६ वर्ष भइसक्यो । अब १६ वर्षको गाली मैले खानुपरेको छ ।’

सरकारका विभिन्न निकायहरुले बनाउने जिम्मा लिएका कामहरु समयमै सम्पन्न नगर्दा अहिलेको समस्या निम्तिदिएको मेयर शाक्यको भनाइ छ । सडक विभागले सडक मर्मत नगर्दा फोहोर विसर्जनमा समस्या आएको मेयर शाक्यले गुनासो गरेका छन्। सडक विभागको कामको विषयमा सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै मेयर शाक्यले जानकारी गराएका छन् । लगत्तै प्रधानमन्त्री देउवाले सडक विभागलाई फोन गरेर तत्काल सडक मर्मत गर्न निर्देशन दिएको मेयर शाक्यले भनेका छन् ।

मेयर शाक्यले अगाडि बताए, ‘उहाँ(प्रधानमन्त्री शेरवहादुर देउवा)ले हाम्रो अगाडि नै फोन गरेर सडक विभागलाई छिटो भन्दा छिटो, आजै सडक बनाइदेउ भोलिदेखि फोहोर उठ्नुपर्छ भनेर निर्देशन दिनुभएको छ । आज बनाइदियो भने भोलिदेखि नै हामी फोहोर उठाउँछौं । यहाँ पानी परेर केही हुँदैन, तर सिस्डोलमा हिलाम्मे हुनुभएन। हामीले फोहोर व्यवस्थापन गर्नै ठाउँमा बाटो बन्यो भने भोलिदेखि नै फोहोर उठाउँछौं।’

प्रकाशन मिति–२०७८ साल भाद्र १४ गते सोमवार ।