काठमाडौं। इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यको व्यापक पहल कदमीवाट नेपालमा इजरायलवाट कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री तथा उपकरण आइपुगेको छ। विहिवार विहान ११.१० बजे नेपाल एअरलाईन्सको चार्टड फ्लाईटबाट उक्त सामग्रीहरु नेपाल आईपुगेको हो।

उक्त स्वास्थ्य सामग्रीहरु इजरायल सरकार, इजरायलमा रहेका स्वास्थ्य संस्थाहरु, व्यवसायिक क्षेत्र, इजरायलीहरु, नेपाली दूतावास परिवार र इजरायलमा रहेका नेपालीहरुबाट सहयोग स्वरुप प्रदान गरिएको जानकारी इजरायलवाट नेपाली राजदूत डा.शाक्यले भिजन संसार डटकमलाई दिएकी छन्।

राजदूत डा. शाक्यका अनुसार करीब २० करोड रुपैंया जति अनुमानित मूल्य पर्ने उक्त स्वास्थ्य सामग्रीको तौल मात्र करीब १८ टन जति रहेको छ। ती सामग्रीहरुमा ५८ थान भेन्टिलेटर, १२० थान अक्सिजन कन्सन्ट्रेटर, आइसीयुसँग सम्बन्धित उपकरण, मोबाईल कोरोना टेष्टिगं ल्याबका उपकरणहरु, औषधि, पिसिआर तथा एन्टीजेन टेष्टिगं किट, पीपीई, थर्मल गन लगायतका कोरोनाको उपचारसँग सम्बन्धित विभिन्न सामग्री तथा उपकरणहरु रहेका छन्।

इजरायलमा नेपाली ध्वजाबाहक हवाईजहाज अ‍ौपचारिक रुपमै इतिहासमै पहिलो पटक अवतरण भएको हो। क्यापटेन विजय लामाको नेतृत्वको टिमले नेपाल एअरलाईन्सको एअरबस ३३२ पहिलो पटक टेल अभिभको बेन गुरियन इन्टरनेशनल एअरपोर्टमा अवतरण गराएका हुन्।

कोभिड—१९ सँग सम्बन्धी ईजरायलले अपनाएको उपचार पद्धतिका बारेमा नेपाललाई सहयोग गर्न नेपाल सरकारसँगको समन्वयमा ‘स्मार्ट कोभिड कमाण्ड कन्ट्रोल रुम’ स्थापना गर्न Monday.Com नामक संस्थाले सफ्टवेयर तथा आवश्यक उपकरणहरु समेत पठाएको राजदूत डा. शाक्यले बताएकी छन्।

यसकालागि Monday.Com का प्राविधक विज्ञहरुले नेपालको सिसिएमसीसँग जुम मिटिगं मार्फत आवश्यक परामर्श दिन थालिसकेको बुझिएको छ । यस अघि राजदूत शाक्यको पहलमा नेपालका लागि ईजरालका तर्फबाट कोभिडसंग सम्बन्धित विभिन्न सहयोगहरु जुटाउन उल्लेख्य भूमिका रहँदै आएको थियो ।
प्रकाशन मिति–२०७८ असार २४ गते विहीवार ।