INAS Award 1काठमाडौ। अन्तरराष्ट्रिय कलाकार संघ इनासको आयोजनामा भएको भव्य तथा सभ्य समारोह वीच काठमाडौको राष्ट्रिय सभागृहमा पाँचौ इनास फिल्मी अवार्ड संपन्न भएको छ। शुक्रबार आयोजित अवार्ड कार्यक्रममा चलचित्र ‘जात्रा’ उत्कृष्ट चलचित्र ठहरिएको छ।

एनआरएनएका अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा सम्पन्न अवार्डमा चलचित्र ‘जात्रा’बाटै विपिन कार्कीले ‘सर्वोत्कृष्ट नायक’को अवार्ड जितेका छन्। चलचित्र ‘डाइङ क्यान्डल’बाट श्रृजना सुब्बाले ‘उत्कृष्ट नायिका’को अवार्ड जितेकी छन्।

२० विधामा प्रदान गरिएको अवार्डमा उत्कृष्ट निर्देशकको अवार्ड भने चलचित्र ‘बीर विक्रम’बाट मिलन चाम्सले जितेका छन्। सोही चलचित्रबाट नायिका दिया पुनले ‘उत्कृष्ट नव–नायिका’को अवार्ड प्राप्त गरिन्।

INAS Award 2पाँचौ संस्करणको अवार्डमा ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट हाँस्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाइ सम्मानित गरियो । इनासका ग्लोबल अध्यक्ष पुष्प बडुवालको सभापतित्वमा सम्पन्न अवार्ड समारोहमा विभिन्न क्षेत्रमा योगदान दिने बरिष्ठ व्यक्तिहरुलाई ‘इनास विशिष्ट सम्मान’बाट सम्मानित पनि गरियो ।

सम्मानित हुनेहरुमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, इतिहासविद् सत्यमोहन जोशी, गायक तथा संगीतकार प्रेमध्वज प्रधान, निर्देशक तथा गीतकार चेतन कार्की, नृत्यांगना विमला श्रेष्ठ रहेका छन्।

INAS Award 3कार्यक्रममा विभिन्न २ विधामा जुरी अवार्ड पनि प्रदान गरियो । जुरी अवार्ड चलचित्र ‘घामपानी’लाई अवार्ड प्रदान गरियो । यस्तै, चलचित्र तुयुमति, दर्पणछाया २, नमस्ते नेपाल र फन्कोलाई ‘प्रोत्साहन पुरस्कार’ दिइयो। यसअगाडि जर्मनी, नेदरल्याण्ड, नेपाल र सिक्किममा यो अवार्ड आयोजना भैसकेको छ। 

प्रकाशन मिति–२०७४ साल असोज २७ गते शुक्रबार ।