काठमाडौं। नेपाललाई लोडसेडिङवाट मुक्त गर्ने उज्यालोका मसिहा नै मानिएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको यो भाद्र महिनाको अन्तिम हप्तातिर चार बर्षे कार्यकाल सकिदैं छ।

फेरि अर्को चार बर्षका लागि कुलमान घिसिङलाई निरन्तरता दिनुपर्ने जनदबाब चर्को रुपमा आइरहेको छ। मंगलवार र बुधवारका फेसबुकका भित्ताहरुमा मन्त्रीपरिषदको निर्णायानुसार फेरि चार बर्षका लागि कुलमान घिसिङलाई नियुक्त गरेको भन्दै बधाई दिनेहरुको ओइरो नै लागेको थियो ।

यो अवस्थामा सरकारका प्रवक्ता डा.युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा सामाजिक सञ्जालले मात्रै नियुक्ति दिएको तर सरकारले नदिएको खुलासा गरेका छन्। बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा मन्त्री खतिवडाले उक्त जवाफ दिएका हुन् ।

‘उहाँलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला सरकारले दिएको छैन। सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन’, मन्त्री खतिवडाले जवाफ दिने क्रममा भने, ‘तर मन्त्रिपरिषदमा औपचारिक प्रस्ताव पनि आएको छैन्। त्यससम्बन्धि छलफल पनि केही भएको होइन।’

निवर्तमान हुन लागेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि आफ्नो फेक फेसबुक आइडी वनाएर सरकारले चार बर्षको लागि फेरि नियुक्ति गरेको भन्ने कुरा भ्रामक भएको भन्दै आफूप्रति सदभाव राख्ने सवैलाई धन्यवाद दिएका छन्।
प्रकाशन मिति–२०७७ साल भाद्र ११ गते विहीवार ।