काठमाडौ। चर्चित चलचित्र पत्रकार गीता अधिकारीको ‘एतै घमाइलो उतै घमाइलो’ नामक तीज गीत सार्वजनिक भएको छ । काठमाडौको बागबजारस्थित सिटीम्याक्स हलको सभाभवनमा सोमबार आयोजित कार्यक्रममा चलचित्र पत्रकार अधिकारीको तीज गीत सार्वजनिक भएको हो।

मिलाप मासिकको प्रस्तुति रहेको तीज गीत ‘एतै घमाइलो उतै घमाइलो’ तीज गीतको बोलजस्तै अत्यन्त रमाइलो रहेको छ। नेपाली प्रथम महिला सभामुख ओनसरी घर्तीको प्रमुख आतिथ्यतामा उक्त तीज गीतको सार्वजनिक गरिएको हो।

सार्वजनिक समारोहमा नेपाल पत्रकार महासंघ काठमाडौंका अध्यक्ष शान्तराम विडारी, चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष शान्तिप्रिय, मिलाप मासिकका सम्पादक कृष्ण भुसाल, बरिष्ठ कलाकार मोहन निरौला, लय संग्रौला, उत्तम केसी, ख्यातिप्राप्त सङ्गीतकार राजु सिंहलगायतले शुभकामना मन्तव्य दिएका थिए।

सञ्चारकर्मी राधिका अधिकारीले सहजीकरण गरेको कार्यक्रममा चलचित्र पत्रकार गीता अधिकारीले आफूले पहिला पनि गीत, कविता लेख्दै आएको भएपनि आफ्नो यो पहिलो तीज गीत हो भनेकी छन्। ‘एतै घमाइलो उतै घमाइलो’ तीज गीतको भिडियोमा नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द, नेपालको पहिलो रङ्गीन चलचित्रकी नायिका चैत्यदेवी, हास्य सम्राज्ञी बसुन्धरा भुसाल, नायिका रुपा राना, सारिका घिमिरेलगायतकाको अभिनय रहेको छ।

सारिका घिमिरेकोस्वरमा रहेको गीतमा दीपक शर्माको सङ्गीत, सुदिप सागरको सङ्गीत संयोजन, साजन शाहको ध्वनी मिश्रण तथा गीतको भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका छन्। वीरेन्द्र भाट ‘विपिन’को छायाँकनरसम्पादन रहेको छ। वल्र्ड कभर मिडिया प्रालिको पोष्ट प्रोडक्सन रहेको गीतको भिडियोमा मनिता गहतराजको नृत्य निर्देशन, राम सिंह भाटको सह सम्पादन, विनोद दाहालको श्रृङ्गार, गीता तामाङको केश सञ्जा रहेको छ।
प्रकाशन मिति–२०७५ साल साउन २१ गते सोमवार ।