काठमाडौ। अन्तरराष्ट्रिय नेपाली कलाकार समाज इनासकी केन्द्रिय बरिष्ठ उपाध्यक्ष कमला दाहाल टिपिकल नेपाली नृत्यका चर्चित कलाकार हुन्। हाल जर्मनमा स्थायी बसोबास गर्दैआएकी कलाकार कमलालाई त्यहाँ नेपाली टिपिकल नृत्यकी क्वीन पनि भन्ने गरिएको छ। सानैदेखि नृत्यमा रुचि भएकी कमलाले आफ्ना कला धेरै स्थानमा प्रस्तुत गरेर धेरैको वाहवाही पाइसकेकी छन्।

सानैदेखि कलाकारितामा मनमगन बन्दै अगाडि बढ्ेकी कमलाले ख्यातिप्राप्त नृत्य निर्देशक बसन्त श्रेष्ठसंग नृत्य सिकेकी थिइन्। त्यो बेला अमर नायक श्रीकृष्ण श्रेष्ठ र डान्सर हिरोइन सारंगा श्रेष्ठ नृत्य सिक्दा कमलाको सहपाठी थिए। सारंगा र श्रीकृष्ण श्रेष्ठसंग मनमगन बनेर डान्स गरेको त्यो क्षण तथा पल अझैपनि कमलाको लागि यादगार बनेको छ। अभिनयको गुरु भने कमलाको अर्का चर्चित नृत्य निर्देशक राजु शाह हुन्।

राजु शाहव्दारा निर्दे्शित चलचित्र सपनाको नौलो संसारमा नायिका बनेर पहिलो पल्ट गजबको अभिनय गर्ने कार्य कमलावाट भएको छ। यसको अलावा अर्को चलचित्र नमस्ते नेपालमा पनि कमलाले नायिका बनेर नै अभिनय गरेकी थिइन्। यी दुई नेपाली चलचित्रको अलावा तामिल भाषाको चलचित्र ब्वाइज एण्ड गर्लमा पनि अभिनय गर्ने कार्य कमलावाट भएको छ।

चलचित्रको अलावा दर्जनौ गीतका म्युजिक भिडियोमा स्वभाविक अभिनय गरेर सवैको मन जित्ने कार्य कमलावाट भैसकेको छ। ओमविक्रम विष्ट, दीपेश किशोर भट्टराइ, अन्जु पन्त, मनोज सेवा लगायतका गीतका म्युजिक भिडियोहरुमा ख्यातिप्राप्त अभिनेताहरु अमृत लामा, शिव श्रेष्ठ र धीरेन शाक्यसंग बेजोड अभिनय गरेर नयाँ आयाम कायम गरिसकेकी छन्।

अभिनयको ज्वाला बोकेकी कमला दुई छोराका आमा पनि हुन्। कमलावाट कुनैबेला छोराहरु सानै हुंदा स्टेजको एक छेउमा छोरालाई स्तनपान गराएर अर्को छेउमा गएर नाचेर कीर्तिमानी कायम गर्ने कार्य पनि भएको थियो। जुन हालसम्मकै कलाकारिताको अविस्मरणीय क्षणका रुपमा कमलाले लिएकी छन्। कलाकारितामा यति धेरै सफलता पाउनुको पछाडि आफूलाई भन्दा बढी माया गर्ने श्रीमान मदन दाहालको सहयोग र साथ नै हो भनेर कमलाले दिल खोलेर भनेकी छन्।


(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७५ साल चैत्र ३० गते शनिवार ।