काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जसले जनताको लागि धेरै काम गर्छन, उसले धेरै बोल्दैनन्, थोरै बोल्छ र धेरै काम गर्ने गर्छन भनेका छन्। मेयर शाक्यले जसले काम गर्दैनन्, उसले धेरै बोल्ने गरेको तर्क राखेका छन्। आफू बोल्ने भन्दा जनताका लागि धेरै काम गरेर थोरै बोल्ने मेयरमा परेको दावी गरेका छन्।

सार्वजनिक सेवा प्र्रवाहमा क्षमता विकास र अभिबृद्धि संवन्धी दुई दिने अभिमुखीकरण तालिमको उदघाटनका क्रममा मेयर शाक्यले यो कुरा भनेका हुन्। मेयर शाक्यले अस्तव्यस्त भएको महानगरपालिकालाई व्यवस्थित बनाउने कार्य गरिसकेको खुलासा गरेका छन्। सेवा दिने कार्यालयलाई व्यवस्थित बनाउने कार्यअनुरुप सवै वडा कार्यालयहरुलाई व्यवस्थित बनाउने कार्य भैसकेको मेयर शाक्यले भनेका छन्। कसैको फाइल रोक्ने कार्य आफूवाट नभएको र छिट्टो–छरितो ढंगवाट कार्यसम्पादन गर्ने कार्य भएको मेयर शाक्यले बताएका छन्।

काठमाडौं महानगरपालिकाका ३२ वटै वडाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुका लागि दिइएको अभिमुखीकरण तालिममा मेयर शाक्यले मेयरलाई सफल बनाउने र असफल बनाउने कार्य वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरु नै भएको बताएका छन्। मेयर असफल हुनु भनेको नै वडा अध्यक्ष लगायत सवै जनप्रतिनिधि असफल हुनु हो भन्दै मेयर शाक्यले धेरै बोल्नुभन्दा जनताका लागि परिणाममुखी कार्य गरेर जनताको मन जित्नु आवश्यक भएको भनेका छन्।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा श्रेष्ठ खड्गीले सिक्ने कार्य जति सिकेपनि नपुग्ने बताउंदै सिकाइले आत्मबल बढ्ने धारणा व्यक्त गरेकी छन्। दुई दिने अभिमुखीकरण तालिमको पहिलो दिन शुक्रवार नेतृत्व विकास र निर्णय क्षमता अभिबृद्धि, जनप्रतिनिधि र कर्मचारी विचको समन्वय, कानून व्यवस्था, स्थानिय कर तथा गैरकर संवन्धी व्यवस्था र प्रयोग अनि स्थानिय तहमा सार्वजनिक सेवा प्रवाह विषयमा विषयका विज्ञहरुले तालिम प्रदान गरेका थिए।

ती विषयमा तालिम दिनेहरुमा डा.टोकराज पाण्डे, रामजी अधिकारी, राज्यप्रकाश प्रधानाङ्ग र बसन्त आचार्य थिए। तालिमको समापन शनिवार हुने कार्यक्रम संयोजक सन्तु श्रेष्ठले भिजन संसार डटकमलाई बताएकी छन्।
प्रकाशन मिति–२०७५ साल असोज १९ गते शुक्रबार ।