काठमाडौं। विश्व सरसफाई दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले अत्याधुनिक ढल सफाई गर्ने अत्याधुनिक जेट मेशिन सञ्चालनमा ल्याइएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले यस जेट मेशिनको सञ्चालन गरेर शुभारम्भ भएको हो।

काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकाको सफाई गरेर मेयर शाक्यले यस जेट मेशिनको सञ्चालनको शुभारम्भ गरेका हुन्। सञ्चालन शुभारम्भ कार्यक्रममा मेयर शाक्यका साथमा उपमेयर हरिप्रभा श्रेष्ठ खड्गी, प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला लगायतले यो निक्कै उपलव्धीमूलक कार्य भएको बताए।

काठमाडौं महानगरपालिकाका कही कतै ढलको समस्यावाट बाताबरणीय सन्तुलनमा खलल आउन नदिन ५ वटा जेट मेशिन सञ्चालनमा ल्याएको हो। १३० हर्सपावर क्षमता र युरो मापदण्ड ४ बमोजिमका जेट मेसिन ५००० लिटर क्षमताका हुन्। ५ हजारमध्ये ४ हजार लिटर सफा पानी र १ हजार लिटर ढलको फोहोर पानी अट्ने छुट्टाछुट्टै ट्याङ्की छन्।

थुनिएको ढल तानेर सानो ट्याङ्कीमा राखिन्छ भने ठूलो ट्याङ्कीमा भएको सफा पानीले फोहोर भएको ठाउँमा सफार्इ गरिन्छ। यो जेट प्रयोगले थुनिएको ढलको सफाई गर्न अत्यन्त सहज र सरल हुने गरेको छ। जेटमा भएको स्प्रे गनले विरुवामा भएको धुलो पखाल्न तथा सडक आसपास क्षेत्रमा सफा गर्न पनि सकिन्छ।


प्रकाशन मिति–२०७५ साल भदौ ३० गते शनिवार ।