काठमाडौं। शुक्रवारवाट काठमाडौं उपत्यकामा बाक्लो तुवाँलो लागेको छ। बाक्लो तुवाँलोले अझै केही दिन वायुमण्डलको प्रदुषण कायमै रहने भएको छ। पछिल्लो समय नेपालका अधिकांश जिल्लामा डढेलो लागेकाले प्रदूषणका कणहरु वायुमण्डलमा नै जम्मा भएकाले काठमाडौं उपत्यकामा बाक्लो तुवालो लागेको हो।

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालका धेरैजसो स्थानको वायुमण्डल स्थिर अवस्थामा रहेको र यस्तो अवस्थामा प्रदूषणका कण छरिन नपाई वायुमण्डलमा नै तैरिरहने भएकाले प्रदूषण बढ्न गई पारदर्शितासमेत घटेको जनाएको छ । स्थिर रहेको वायुमण्डल आगामी केही दिनसम्म सुधार हुने सम्भावना कम रहेको विभागले भनेको छ।

यसबाट हुने प्रदूषणको कारण स्वास्थ्यमा पर्ने नकारात्मक असर आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या आदिबाट बच्न आवश्यक कार्यबाहेक घर बाहिर ननिस्किन र निस्किनुपरेमा मास्क लगाउन हुन र आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

यसैबीच स्वास्थ्य मन्त्रालयले विज्ञप्ती जारी गरेर वायु प्रदुषण जारी रहेकाले अत्यावश्यकबाहेक घर बाहिर नजान आग्रह गरेको छ । काठमाडौंको वायूमण्डलमा अत्याधिक धुलोका कण रहेकाले आँखा पोल्ने र छालामा इन्फेक्सनको समस्या आउनसक्ने भन्दै मन्त्रालयले सचेत रहन आग्रह गरेको हो ।

यस्तै घरबाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न पनि मन्त्रालयले अपील गरेको छ। लाङटाङ राष्ट्रिय निकुञ्जसहितका वन क्षेत्रमा भीषण डढेलो लागेको र त्यहाँबाट निस्किएको धुवाँ काठमाडौंसम्म आइपुग्दा वायु थप प्रदुषित भएकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको हो ।
प्रकाशन मिति–२०७७ साल चैत्र १४ गते शनिवार ।