काठमाडौं। ऐतिहासिक नगर कीर्तिपुरमा नवनिर्मित अन्तरराष्ट्रिय कीर्तिपुर कभर्ड हल कीर्तिपुर नगरपालिकालाई हस्तान्तरण गरिएको छ। कीर्तिपुर नगरपालिका वडा नं. १० मा रहेको कीर्तिपुर कभर्ड हल कीर्तिपुर नगरपालिकालाई राष्ट्रिय खेलकुद परिषदले हस्तान्तरण गरेको हो।

कीर्तिपुर नगरपालिकाको अमल्सि स्थित भवनमा बुधबार भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनलाई कभर्ड हल हस्तान्तरणको कागजमा हस्ताक्षर गरी हस्तान्तरण गरेको हो। नेपाल जुडो संघका उपाध्यक्ष समेत रहेका कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले कीर्तिपुर कभर्ड हल यस नगरपालिकाले पाएकोमा खुशी व्यक्त गर्दै नगरपालिकाको लागि यो एक उपहार जस्तै भएको बताएका छन्।

खेलकुदमा कीर्तिपुर पनि अग्रणी भागमा रहेको उल्लेख गर्दै मेयर महर्जनले कीर्तिपुर नगरपालिकाद्वारा मेयर खेलकुद् प्रतियोगिता समेत गरिरहेकोमा गत वर्ष कोभिडका कारण स्थगित गर्नुपर्ने भएता पनि यस वर्ष पुनः प्रतियोगिताको आयोजना हुने बताएका छन् । यसका लागि हाल मेयर खेलकुद् प्रशिक्षण भैरहेको समेत मेयर महर्जनले बताए । खेलकुद्का मुख्य खेलहरू फुटबल, भलिबल, ब्याडमिण्टन, टेबलटेनिस, चेस र बास्केटबल गरी ६ वटा खेलहरूको प्रशिक्षण गत मंसिर १३ गतेदेखि भैरहेका छन् ।

कीर्तिपुर नगरपालिकाले पनि प्रत्येक वडामा एक खेल मैदानको अवधारणा अन्तर्गत कामहरू गरिरहेको उल्लेख गर्दै मेयर महर्जनले नगरपालिकाले प्राप्त गरेको यस कभर्ड हललाई पूर्णरुपमा सदुपयोग गरी राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन गर्ने विश्वास दिलाएका छन्। स्मरण रहोस्, गत वर्ष भएको साग खेलकुद्मा नगरपालिकालाई हस्तान्तरण गरिएको कीर्तिपुर कभर्ड हलमा फेन्सिङ्ग र खो–खो गरी दुईवटा खेलहरू भएको थियो ।
प्रकाशन मिति–२०७७ साल पुस २ गते विहीवार ।