काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमण। रोकथाम तथा नियन्त्रणका लागि नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले आकस्मिक कोष स्थापना गरेको छ।

काठमाडौँ महानगरपालिकाले कोरना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि रु. १० करोडको आकस्मिक कोष स्थापना गरेको हो। विहीवार काठमाडौं महानगरपालिकाको विशेष कार्यपालिका बैठकले यो निर्णय गरेको मेयर विद्यासुन्दर शाक्यले खुलासा गरेका छन्। उक्त कोषबाट कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि तत्काललाई साना, मझौला र ठूला वडाहरुलाई क्रमश रु. २ लाख, रु.३ लाख र रु.४ लाख रुपैयाँका दरले निकासा पठाइने भएको मेयर शाक्यले भनेका छन्।

‘कोरोना भाइरस रोकथाम तथा नियन्त्रणसँगै डेंगु रोग नियन्त्रणका लागि नेपाली तथा नेपाल भाषामा पर्चा, पम्पेल्ट, व्यानर जस्ता प्रचार सामाग्रीहरु तयार गरेर सचेतनाका कार्यक्रम सञ्चालन गरिनेछ ।’ मेयर शाक्यले स्पष्ट पारेका छन्। काठमाडौं महानगरपालिका अन्तर्गतका विभिन्न स्थानहरुमा स्वास्थ्य जनशक्ति, स्वास्थ्य सामाग्री, प्रचार सामाग्रीसहितका हेल्प डेक्सहरु स्थापना तथा सञ्चालन गरिनेछन् । महागरपालिकाभित्र भएका मठ, मन्दिर, मस्जिद, गुम्वा जस्ता धार्मिक, सामाजिक सम्पदा क्षेत्रमा भीडभाड नगर्न सर्व साधारणलाई अनुरोध गर्ने निर्णय पनि वैठकले गरेको छ।

कोरोना भाइरसको शंका भएमा के गर्ने जस्ता स्थानीयमा हुन सक्ने अन्यौलमा सहयोग गर्न जनस्वास्थ्य महाशाखा अन्तर्गत फोकल प्वाइन्टको रुपमा २४ सै घण्टा हेल्प डेक्स सञ्चालन गरिनेछ । त्यस्तै आम सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि जनचेतनामुलक सन्देशहरु लगातार सम्प्रेषण गर्ने–गराउने, नगर तथा वडा स्तरीय विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समितिलाई क्रियाशील बनाउने जस्ता निर्णय पनि बैठकले गरेको मेयर शाक्यले भनेका छन्।

त्यस्तै महानगरपालिकाको सहकार्यमा सञ्चालन भएको नेपाल एम्बुलेन्स सेवा (१०२) लाई उच्च सतर्कतामा राखी परिचालन गर्ने, अर्को व्यवस्था नभएसम्मका लागि काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले भोज–भतेरको आयोजना नगर्ने र अरुले गरेको भोजमा सहभागी नहुने, सार्वजनिक कार्यक्रम हुन नदिने निर्णय भएको छ ।

कोभिड — १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले गरेका निर्णय कार्यान्वयन गर्ने, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा गठित अनुगमन समितिलाई कालोवजारी नियन्त्रणका क्रियाशील बनाउने निर्णय भएको छ । महानगरमा धुमधाम मनाइने पाहाँचह्रे, सेतो मच्छिन्द्रनाथको रथयात्रा, घोडेजात्राजस्ता भीडभाड हुने पर्वहरुमा फैलिन सक्ने संक्रमण नियन्त्रण गर्न यसपटक रथयात्रा नगर्न गुठियारहरुसँग छलफल गरिने मेयर शाक्यको भनाइ छ ।

त्यस अघिको कार्यपालिका बैठकमा वडाध्यक्ष एवं विपद् व्यवस्थापन समितिका संयोजक तथा वडा नंबर २५ का वडा अध्यक्ष नीलकाजी शाक्यले केही समय लक डाउन नै गर्नु पर्ने अवस्था देखिएको धारणा राखेका थिएभने वडा नंबर २ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ, वडा नंबर ७ का वडा अध्यक्ष शुद्धकुमार डंगोल र वडा नंबर १७ का वडा अध्यक्ष नविन मानन्धरले कोरोनाभन्दा कालोबजारी खतरा भएकोले स्थानीय जनजीवनलाई सहज बनाई राख्न यसमाथिको कडा निगरानी गर्नुपर्ने सुझाव राखेका थिए । कलंकी क्षेत्रमा खसी बजार भएकोले बिशेष निगरानी गरिएको वडा नंबर १४ की वडा अध्यक्ष शोभा सापकोटाले जानकारी दिएकी थिइन्।
प्रकाशन मिति–२०७६ साल चैत्र ६ गते विहीवार ।