काठमाडौं। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेसँगै नेपालमा विभिन्न राजनीतिक दल तथा नागरिक समाज सडक आन्दोलनमा उत्रिएका छन्। राजावादीदेखि नेपाली कांग्रेस हुंदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लगायतका पार्टीहरुले दिनहुँजस्तो राजधानी काठमाडौं लगायत देशैभर सडक आन्दोलन गरिरहेका छन्।

गाउँ गाउं देखि गाडीका गाडी कार्यकर्ताहरुलाई काठमाडौंमा उतारेर शक्ति प्रदर्शन गर्ने एक किसिमको होडबाजी नै चलिरहेको छ। यसप्रकारको होडबाजीले नेपालमा कोरोना महामारीको अन्त्य भएको हो कि भन्ने भान गराएको छ। कुनैपनि प्रकारको सामाजिक दूरी कायम नगरिकन गर्दैआएका यसप्रकारका सडक आन्दोलनले कोरोना महामारीलाई पुट दिने हो कि भन्ने गंभीर डर पनि पैदा गराएको छ। राजनीतिक स्वार्थका लागि सडकमा आउनेहरुले आफ्नै स्वास्थ्यको पनि ख्याल गरेको देखिदैन। स्वास्थ्य भएमा सवै हुन्छ भन्ने सामान्य हेक्का पनि राखेको देखिदैन।

नेपालमा सरकारले कोरोना महामारीको कारण कुनै सभा–सम्मेलन तथा ठूलो कार्यक्रम गर्न र गराउन स्वीकृति नदिएको अवस्था रहेको छ। कोरोनाको महामारीको वर्तमान अवस्थामा बेहिसावले भैरहेको सडक आन्दोलनले नेपाली जनतालाई कोरोना महामारीको अग्निकुण्डमा होम्न लगाएको हो कि भन्ने भान भएको छ। यसमा स्वयम् नेपाली जनता पनि सचेत हुनु आवश्यक छ। न मास्कको प्रयोग, न त सामाजिक दुरी, न त जनस्वास्थ्यको मापदण्ड विनाको सडक आन्दोलनले सत्ता सल्काउने कार्य भन्दा कोरोना संक्रमणलाई सल्काउन धेरैभन्दा धेरै मदत गरिरहेको आम सर्वसाधारणको धारणा रहेको छ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रति असन्तुष्टि जनाउदै सुरु भएको विरोध प्रदर्शनका कारण कोरोना महामारी संक्रमणको जोखिम नेपालमा उच्च रुपमा बढ्ने देखिएको छ। सडक प्रदर्शनमा के वालक, के वृद्ध सबैखाले मानिसलाई उतार्ने कोशिस आन्दोलनकारीले गरेका छन। तर उनीहरुले सामान्य मास्कको प्रयोग समेत गरेका छैनन् । पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधबकुमार नेपाल देखि थुप्रै मन्त्रीहरुको समेत सहभागीता भईरहेका यी आन्दोनलहरुमा कोरोना भाइरस संक्रमण नहोस भन्ने सामान्य मापदण्ड समेत अपनाएको पाइदैन। आन्दोनलमा आउनेहरुमा संक्रमणको कुनै डर नभएको आभांस उनीहरुले दिइरहेका छन्। यसको मतलव कोरोनालाई चुनौति दिने कार्य भैरहेको छ। जुन दुःखद तथा विडम्बना हो।

नेपालमा केही दिनयता कोरोना संक्रमण परीक्षण घटेका कारण संक्रमितको संख्या समेत घटेको देखिन्छ। तर जति परीक्षण गरिएको छ–त्यसको १० प्रतिशत बढीमा संक्रमण देखिने गरेकाले संक्रमणको अवस्था अहिले पनि भयावह नै छ भन्ने प्रष्ट हुन्छ। दैनिकजस्तो यस्तो विरोध जुलुस र सभाका कारण संक्रमणको दर झन उच्च हुने निश्चित छ। आन्दोलनका सहभागी भने आफनो स्वास्थ्य भन्दा देशको चिन्ता बढी भएका कारण आन्दोलनमा आएको बताउछन्।

वेलायत, अमेरिका लगायतका देशहरुमा कोरोना संक्रमणको नयाँ स्वरुपमा फैलिरहेको वर्तमान अवस्थामा त्यसको असर नेपालमा पनि नपर्ला भन्न नसकिने अवस्था छ। यसतर्फ नेपाली जनता तथा नेता आफै सचेत हुन आवश्यक छ। यद्यपि, सडकमा ओर्लिनेहरु सरकारको गलत कदम विरुद्ध सडकमा जान बाध्य भएको तर्क गरिरहेका छन्। विरोध कार्यक्रमहरु आयोजना गर्ने पक्षले कम से कम जनस्वास्थ्यका सामान्य मापदण्ड अपनाउन ध्यान नदिने हो भने राजनीतिक रोगले भन्दा चाँडै कोरोनाले संकट नल्याउला भन्न सकिंदैन। यो सर्वसाधारण सवैको चिन्ताको कुरा हो।


प्रकाशन मिति–२०७७ साल पुस १४ गते मंगलवार ।