काठमाडौं । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको पहिचानको मागसहित सोमबार शिक्षाविद् तथा पत्रकार सत्यनारायण बहादुर श्रेष्ठको १०५ औँ जन्मजयन्ती मनाइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले आदर्श विद्या मन्दिर (एभिएम)मा अवस्थित श्रेष्ठका प्रतिमामा माल्यार्पण गरी उहाँलाई स्मरण गर्ने कार्य भएको हो ।

सञ्चार मन्त्री गुरुङसँगै नेवाः पत्रकार राष्ट्रिय दबुका पदाधिकारी तथा अन्य अतिथिले पनि श्रेष्ठको प्रतिमामा माल्यार्पण गरेका थिए। कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर वज्राचार्यले श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको पहिचान दिलाउन लेखिएको ध्यानाकर्षण पत्र सञ्चारमन्त्री गुरुङलाई हस्तान्तरण गरेका थिए।

ध्यानाकर्षण पत्रमा उल्लेख छ– ‘नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षका रुपमा पत्रकार संगठित गर्ने अभियानको सुरुवात २००८ सालमा नेपाल टुडेको सम्पादक श्रेष्ठले आफ्नो अध्यक्षतामा पहिलो पटक नेपाल पत्रकार संघको गठन गरेको हो। २००९ सालमा संघको दोस्रो सभाबाट पुनः श्रेष्ठलाई अध्यक्षमा चयन गरिएको हो। २०१२ सालमा पत्रकारहरुको अर्को बैठकबाट पूर्व प्रधानमन्त्री तथा नेपाल कंग्रेसका पूर्व सभापति कृष्णप्रसाद भट्टराईको सभापतित्वमा नेपाल पत्रकार संघको पुनर्गठन गरिएको थियो । त्यसपछि यही तथ्यलाई पहिलो घटनाको रुपमा व्याख्या गरी भट्टराईलाई नेपाल पत्रकार महासंघको संस्थापक मानिँदै आएको छ । यसले इतिहास मेट्ने कार्य भइरहेको छ ।’

सञ्चार मन्त्री गुरुङले पत्रकार महासंघको अध्यक्ष विवाद बारेमा आफ्नो
ध्यानाकर्षण भएको बताउंदै सबै सरोकारवालासँग छलफल गरी यो विवादको टुङ्गो लगाउने प्रयास गर्ने आश्वासन दिएका छन्। ‘२००७ सालमा देशमा प्रजातन्त्र आयो । २००८ सालमा नै श्रेष्ठले पत्रकारहरुका संगठन गठन गर्नुभयो । यो उहाँको दुरदर्शीताको प्रमाण हो। यसका साथै २००७ सालमा प्रजातन्त्र आउनुमा पत्रकारहरुको भूमिका र योगदानबारे पनि थाहा पाउन सकिन्छ’ सञ्चार मन्त्री गुरुङले त्यसक्रममा भनेका छन् ।

नेवार पत्रकारहरुको संस्था नेवाः पत्रकार राष्ट्रिय दबूदारा आयोजित कार्यक्रममा अध्यक्ष सुरजवीर वज्राचार्यले यो न्यायको लडाई हो भन्दै यसका लागि आफ्नो संगठनले आवाज उठाइरहने जानकारी गराए। अब यो विषयलाई कार्यान्वयनको पाटोमा लानेबारे आवश्यक छलफल गरी अगाडि बढ्न आवश्यक भइसकेको छ– अध्यक्ष बज्राचार्यको भनाई छ ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापा मगरले दस्तावेज, प्रमाणहरु जुट्न सकेको खण्डमा नेपाल पत्रकार महासंघले पनि श्रेष्ठको योगदानको कदर गर्ने विश्वास व्यक्त गरे। मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिहंले यो विषयबारे सत्यतथ्य सबैलाई थाहा भएपनि कसैले सम्बोधन गरिरहेको छैन, भन्दै देशकै गौरवशाली व्यक्तित्व अगाडि भएको हुनाले सत्यनारायण बहादुर श्रेष्ठको कार्य ओझेलमा पारिएको खुलासा गरेका छन्। कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबू, यलका कोषाध्यक्ष सुनील वज्राचार्यले धन्यवाद मन्तव्य दिएका थिए।


प्रकाशन मिति–२०७७ साल पुस १४ गते मंगलवार ।