लण्डन। कोरोना महामारीको नयाँ संक्रमण बेलायतमा तिब्र रुपमा फैलिरहेको वर्तमान अवस्थामा बेलायत सरकारले देशका थप क्षेत्रहरुमा कडा प्रतिवन्धको घोषणा गरेको छ।
बुधबार बेलायत सरकारका स्वास्थ्यमन्त्री म्याट ह्यानककले मिडल्याण्ड, नर्थ इष्ट, साउथ वेष्ट र नर्थ वेष्टसहितका केही क्षेत्रमा सबैभन्दा कडा तहका ‘टिएर ४’ प्रतिवन्धहरु लागू गर्न लागिएको घोषणा गरेको हो।

बुधबार मध्यरातदेखि नै लागू हुने गरी ‘टिएर ४’ मा राखिएका क्षेत्रहरुमा नेपालीहरुको उल्लेख्य बसोबास रहेका मिडल्याण्डका लेस्टर, बर्मिङहम, वुल्भरह्याम्पटन, नटिङहम, ननिटनसहितका क्षेत्र र स्वीण्डन पनि छन्। जुन क्षेत्र अहिलेसम्म ‘टिएर ३’ मा थिए। त्यसैगरी, बुधबार मध्यरातदेखि ‘टिएर ४’ मा पर्नेमा लिंकनशायर, नर्थह्याम्पटन, डर्बी, कोभेन्ट्री, चेसायर, म्यान्चेस्टर, समरसेट, बर्नमाउथ, आयल अफ वाइट, ग्लस्टशायर लगायतका क्षेत्र छन् ।

सरकारले यसअघि ‘टिएर २’ मा रहेका लिभरपुल, योर्क, बाथ, कर्नवाल, विल्शायर लगायतका केही क्षेत्रलाई ‘टिएर ३’ मा लैजाने घोषणा समेत गरेको छ। ‘टिएर ४’ प्रतिवन्ध लागू भएका क्षेत्रमा सरकारले ‘स्टे होम’ को अलर्ट जारी गरेको छ। यी क्षेत्रमा अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द रहनेछन् ।

रेष्टुरेन्ट, पब, बार, हेयर ड्रेसर, जिमखाना लगायतका क्षेत्र बन्द रहनेछन् भने रेष्टुरेन्टहरुले टेकवे तथा डेलिभरी सेवा मात्रै सुचारु राख्न पाउनेछन्। अन्य टियरमा रहने क्षेत्रसम्म यात्रा नगर्न आव्हान गरिएको छ। फरक–फरक घरका सदस्यबीचको इन्डोर मिक्सिंगमा पूर्णत रोक हुनेछ। पार्कसहितका आउटडोर स्थानमा अर्को घरको एक जनासम्म मात्र भेट्ने छुट छ।

‘टिएर३’ मा रहने क्षेत्रमा भने आउटडोर ६ जनासम्मको भेटलाई छुट छ र अत्यावश्यकबाहेकका पसल, जीमखाना तथा हेयर ड्रेसर तथा ब्युटी सलुनहरु पनि खुला राख्न पाइन्छ।


प्रकाशन मिति–२०७७ साल पुस १६ गते विहीवार ।