काठमाडौं। चर्चा तथा विवादको शिखरमा रहेको काठमाडौं महानगरपालिका वडा नंबर १ स्थित कमलपोखरी पूर्नरनिर्माण यो चैत्र मसान्तभित्र संपन्न हुने भएको छ। काठमाडौँ महानगरपालिकाले कमलपोखरीको पहिलो चरणको पूर्नरनिर्माण चैत्र मसान्तसम्ममा सम्पन्न गर्ने निश्चित भएको हो।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चैत्र मसान्तसम्म पहिलो चरणको पूर्नरनिर्माणको कार्य संपन्न गर्न व्यापक कार्य भैरहेको वताएका छन्। अबको केही दिनमै कमलपोखरीमा साढे २ करोड लिटर पानी भर्ने तयारीमा रहेको जानकारी पनि मेयर शाक्यले वताएका छन्।

पानीको दिगो स्रोतका विषयमा मेयर शाक्यले पूर्नरनिर्माणका क्रममा आकाशे पानी पोखरीमा जम्मा हुने प्रणाली विकास गरिएको तथा बाहिरी र प्राकृतिक गरी दुवै प्रकारका स्रोतको पानीले पोखरीमा पानीको सतह सधैँ एकनास कायम हुने खुलासा गरेका छन्। कंक्रिटको कमलपोखरी बनाएर सम्पदा मास्न लाग्यो भन्ने हल्लाले समाजमा भ्रम सिर्जना गरेको भन्दै मेयर शाक्यले। कमलपोखरीको ऐतिहासिकता र यसको गरिमा नासिने कुनै पनि संरचना नजोडेको जिकिर गरेका छन्। कमलपोखरी शतप्रतिशत बास्तुशास्त्रमा आधारित रहेको ठोकुवा पनि मेयर शाक्यको रहेको छ।

कमलपोखरी करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण भैरहेको छ । करीब २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमल पोखरी पूनरनिर्माणपछि फेरिएको स्वरुपमा हुनेछ। कमलपोखरीमा ९ वटा चैत्य रहने छन् भने पोखरी छिर्ने गेटलाई नेपाली स्वरुप दिइने छ। पोखरी निर्माणमा नेपाली इट्टा र दर्शन ढुंगा प्रयोग गरिने भएको छ। पोखरी आसपासमा नेपालीपन झल्काउन झिँगटीका छानायुक्त संरचना हुनेछन्। पोखरीमा ५ ओटा मकरधारा निर्माण गरिनेछन् ।
प्रकाशन मिति–२०७७ साल चैत्र ६ गते शुक्रवार ।