काठमाडौं। चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र अभिनेता दीपक क्षेत्रीको सामूहिक अन्त्येष्टि गरिएको छ। भट्टराई र क्षेत्रीको सोमवार साँझ पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो।


नेपाल सरकारका सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भट्टराईको पाथिर्व शरिरमा राष्ट्रिय झण्डा ओढाएसँगै नेपाल प्रहरीको सलामीका साथ भट्टराई र क्षेत्रीको अन्त्येष्टि गरिएको हो। भट्टराईलाई भट्टराईका १४ वर्षिय छोराले दागबत्ती दिएका थिए।

५१ वर्षीय भट्टराई वैवाहिक कार्यक्रमबाट निवासतर्फ फर्कदै गर्दा बाटोमा बेहोस भएका थिए। उपचारको लागि ओम अस्पताल लाने क्रममा आइतवार राति १०ः३० बजेतिर उनको निधन भएको हो। लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय रहेका शालिन र सरल व्यक्तित्व भट्टराई करिब ८ महिनादेखि चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षको पदमा कार्यरत थिए।

त्यस्तै ५८ बर्षिय अभिनेता दीपक क्षेत्रीको शनिवार निधन भएको थियो। उनी डिल्लीबजारस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामै मृत भेटिएका थिए। दुवै कलाकारको अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास वोर्डको भवन चावहिलमा राखेपछि अन्त्येष्टिका लागि सांझतिर पशुपति आर्यघाट लगिएको थियो।
प्रकाशन मिति–२०७६ साल मंसिर ३० गते सोमवार ।