काठमाडौं। चीनको खासामा रहेको ‘केरुङ च्छो’ ताल फुटेर नेपालको सिन्धुपाल्चोक जिल्लामा ठूलो क्षति पुग्न सक्ने ठहर चीनको रहेको छ। यसलेगर्दा चिनियाँ अधिकारीहरुले नेपाललाई सतर्कता अपनाउन आग्रह गरेका छन्।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले एक विज्ञप्ति जारी गर्दै चिनियाँ अधिकारीहरुले अविरल वर्षाका कारण पानी भर्न गई ताल जुनसुकै बेलामा फुट्न सक्ने र त्यसबाट भोटेकोशी नदीमा आकस्मिक रुपमा पानीको बहाब बढ्न सक्ने तर्फ सचेत गराएको उल्लेख गरिएको छ।

ताल फुटेको खण्डमा भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका साथै नदी किनारमा रहेका अन्य मानव बस्ती बगाउन सक्ने र ठूलो क्षति हुन सक्ने खतरा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

जिल्ला प्रशासनले सम्भावित जोखिम क्षेत्रमा सतर्कता अपनाउन र भोटेकोशी किनारमा रहेका बस्तीहरु तत्काल खाली गरी सुरक्षित स्थानमा जान आग्रह गरेको छ। साथै नदी किनारका बस्तीका नागरिकलाई सुरक्षित ठाउँमा सार्न जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भनेका छन्।

बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पालेपनि नदी आसपासका बासिन्दालाई सडकभन्दा माथितिर आएर बस्न आह्वान गरिएको बताएका छन्। उनका अनुसार केरुङ च्छो (दूधपोखरी) फुट्यो भने कल्पना गर्न नसकिने क्षति हुनेछ र सबैभन्दा बढी क्षति बाह्रबिसेमा हुनेछ।

तातोपानी नाकाबाट ६ घण्टा हिडेर पुगिने उक्त पोखरीमा ठूलो छाल सधैं आउने गरेको र भूकम्पपछि पनि एकपटक यस्तै खतराको सूचना प्राप्त भएको मेयर शेर्पाको भनाइ छ।


प्रकाशन मिति–२०७७ साल साउन ५ गते सोमवार ।