काठमाडौं। अविरल बर्षाका कारण उत्पन्न प्राकृतिक प्रकोप बाढीपहिरोले गर्दा काठमाडौं, दार्चुला, तनहुँ, गोरखा र धादिङमा गरी सात जनाको मृत्यु भएको छ। दुई जना घाइते र तीन दर्जनभन्दा बढी परिवार विस्थापित भएका छन्।

कान्तिपुर दैनिकका अनुसार, काठमाडौंको कागेश्वरी मनहरा–१ गागलफेदीमा पुरिएर २२ वर्षीय नवराज गुरूङको मृत्यु भएको छ । दार्चुलाको नौगाड गाउँपालिका–६ परिगाउँमा आइतबार राति पहिरोले घर पुरिँदा ४२ वर्षीया मानमती ठगुन्ना र उनकी भतिजी ५ वर्षीया पार्वती ठगुन्नाको मृत्यु भएको छ । मानमतीका आफन्त मोहना ठगुन्नाको अवस्था गम्भीर छ । उनको शैल्यशिखरको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको दार्चुलाका डीएसपी पदमबहादुर विष्टले बताएका छन् ।

परिगाउँ खोला किनारका सात घर र एक विद्यालयसमेत बाढीले बगाएको छ । तीन घर उच्च जोखिममा छन् । परिगाउँमा स्थानीयका ८३ वटा बाख्रा, २५ गोरु, ११ गाई, २ वटा घोडालगायत पशुचौपाया बाढीपहिरोले बगाएका छन् । विस्थापित परिवारलाई सुरक्षित ठाउँमा सारेर क्षतिको विवरण संकलन भइरहेको डीएसपी विष्टले बताए ।

राति नै नौगाड गाउँपालिका–३ खार खोलाको बाढीले आनसिंह ठगुन्ना, जोगी धामी र रमेशसिंह ठगुन्नाको पसल बगाएको स्थानीय रघुवीर सिंह ठगुन्नाले भनेका छन्। बाढीले १० वटा पानी घट्ट, ४ आरसीसी पुल, ४ काठे पुल, खेल मैदान, माछापोखरी बगाएको छ भने खार लघु जलविद्युत् आयोजनाको मुहानमा क्षति गरेको उनले जानकारी दिए।

नेपाल विद्युत् प्राधिकरणको डुङुरी पावर हाउसभित्र डुङुरी खोलाको बाढीले क्षति पुर्‍याएको छ । पावर हाउस सञ्चालनमा आउन दुई साता लाग्न सक्ने नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्र प्रमुख दयाराम शाहले बताए । महाकाली नगरपालिका–५ धौलीगाड खोलामा आएको बाढीले महाकाली लोकमार्ग अवरुद्ध भएको छ । धौलीगाड खोलामा निर्माणाधीन पक्की पुलको पिलर धस्सिएको छ ।

तनहुँको भानु–९ सिमगैरामा महेन्द्र धरालीको घर पहिरोले पुर्दा उनकी आमा ८० वर्षीया तिलमाया र १७ वर्षीया छोरी तृप्साको मृत्यु भएको छ । सोमबार दिउँसो गएको पहिरोमा परी तिलमायाको घटनास्थलमै र घाइते तृप्साको डुम्रेमा उपचारका क्रममा मृत्यु भएको तनहुँका एसपी अरुण पौडेलले बताए । पहिरोका कारण शुक्लागण्डकी र म्याग्देमा २० घर विस्थापित भएका छन् । गत साता पहिरोमा बेपत्ता व्यास –९ का राजेश थापा अझै भेटिएका छैनन् ।

पहिरोले गोठसँगै पुरिएर गोरखाको गण्डकी–४ फुजेल कौदिककी ३४ वर्षीया लक्ष्मी गुरुङको मृत्यु भएको छ। सोमबार दिउँसो बाख्रालाई घाँस दिँदै गर्दा पहिरोले पुरेको स्थानीय धनबहादुर गुरुङले बताए। जिल्लामा एक हजार रोपनीभन्दा बढी धानखेतमा क्षति पुगेको छ । लमजुङको राइनास, दूधपोखरी र दोर्दीमा एक दर्जनभन्दा बढी परिवार बाढीपहिरोले विस्थापित भएका छन् ।


प्रकाशन मिति–२०७७ साल साउन ६ गते मंगलवार ।