काठमाडौं। यो बर्षकी मिस नेपाल श्रृंखला खतिवडाले चीनमा हुन गैरहेको विश्व सुन्दरी प्रतियोगितामा बेग्लै प्रस्तुति दिएर नेपाललाई चिनाउने कोशिश गर्ने भएकी छन्। चीनको सान्यामा हुने विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल खतिवडाले मकवानपुरको नेपालको पिछडिएको चेपाङ समुदायको चेपाङ वस्तीमा स्वास्थ चौकी भवन निर्माण गरी त्यसको वृत्तचित्र लैजाने तयारी गरेकी हुन्।

चीनको सान्यामा डिसेम्वर ८ अर्थात मंसिर २२ गते शनिबार हुने विश्व सुन्दरी प्रतियोगितामा मकवानपुरको कैलाश गाउँंपालिका वडा नं ७ मा ६ कोठे स्वास्थ्य चौकी भवन बनाई त्यसको वृत्तचित्र त्यहाँं देखाउन लाने भएकी हुन्। ‘व्युटी विथ पर्पोज’ अर्थात ‘उद्देश्यसहितको सौन्दर्य’ भन्ने नाराका साथ हरेक वर्ष हुने विश्व सुन्दरी प्रतियोगितामा सहभागीहरुले यसरी नै कुनै न कुनै उद्देश्य लिएर जाने गर्दछन् । प्रतिस्पर्धीहरुको मूल्यांकनको एउटा आधार उनीहरुले लिएर गएको यही ‘व्युटी विथ पर्पोज’ पनि हुने गर्दछ।

पिछडिएका चेपाङ जातिको स्वास्थ्य सेवा पहुँंचका लागि बनाइएको वृत्तचित्र लिएर जान लागेको यो पहिलो हो। यसअघिका नेपाली सुन्दरीले यसबाहेकका विभिन्न उद्देश्यहरु लिएर गएका थिए। प्रतियोगितामा प्रत्येक देशबाट प्रतियोगी सुन्दरीहरुले आ–आफनो उद्देश्य ल्याउने गर्दछन। यो वर्ष हुने प्रतियोगितामा विश्वभरका १ सय २० वटा देशका सुन्दरीले सहभागिता जनाउँदैछन्। ‘म स्वयम आफैं आर्किटेक्ट इन्जिनियर भएकाले पिछडिएका चेपाङ समुदायलाई स्वास्थ्य सेवा दिनुपर्छ भन्ने विश्वव्यापी रुपमा सन्देश दिन चेपाङ गाउँंलाई नै लक्षित गरी स्वास्थ्य चौकी बनाई त्यसको वृतचित्र लैजान लागेकी हुँं,’ मिस नेपाल खतिवडाले भनेकी छन्।

आर्किटेक्ट श्रृंखलाले आफैले डिजाइन गरी स्वास्थ्य चौकी भवन बनाउन लागेकी हुन्। इन्टरनेशनल ग्रीन डेभलपर्स नेपालले स्वास्थ्य चौकी भवन बनाउन गोर्खा इको प्यानल (स्थायी तथा अस्थायी संरचना निर्माणमा वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री) दिई सहयोग गर्न लागेको हो।
प्रकाशन मिति–२०७५ साल साउन २२ गते मंगलवार ।