काठमाडौं। स्वास्थ्यमा अचानक समस्या आएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्। बुधवार विहान ११ः३० बजेतिर काठमाडौंको धापासी स्थित ग्राण्डी अस्पतालमा प्रधानमन्त्री ओली उपचार्थ भर्ना भएका हुन्।

प्रधानमन्त्री ओलीलाई आईसीयूमा राखेर उपचार गरिएको छ। प्रधानमन्त्रीकी निजी चिकित्सक डाक्टर दिव्या सिंह शाह र ग्राण्डी अस्पतालका आईसीयू इन्चार्ज डा. सुवास आचार्यको टोलीले प्रधानमन्त्रीको उपचार गरिरहेको छ।

प्रधानमन्त्रीलाई ज्वरो आउने र टाउको दुख्ने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको बुझिएको छ। स्वास्थ्य परीक्षणको सम्पूर्ण रिपोर्ट आएपछि मात्रै प्रधानमन्त्री अस्पतालबाट फर्कने अस्पताल स्रोतले जनाएको छ।

१२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीले नियमित औषधि खाँदै आएका छन्। गत भदौमा उहाँ दुई पटक सिंगापुर गई उपचार गराएका थिए।
प्रकाशन मिति–२०७६ साल कात्तिक १३ गते बुधवार ।