काठमाडौं। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली दुई दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । १२ वर्षअघि प्रत्यारोपित मिर्गौलामा आएको खराबीका कारण विविध स्वास्थ्य समस्या देखिएपछि बुधबार बिहान काठमाडौंको धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा भर्ना भएका प्रम ओलीलाई दुईपटकको हेमोडायलाइसिसपछि बिहीबार बेलुका डिस्चार्ज गरिएको हो।

प्रम ओलीको रगतमा बढेको हानिकारक तत्त्व क्रियटाइन हटाउन बुधबार र बिहीबार गरी दुईपटकसम्म हेमोडायलाइसिस गरिएको हेल्थपोष्ट नेपाल डटकमको सांझको संस्करणमा उल्लेख रहेको छ। डिस्चार्जको निर्णयपश्चात् प्रमको स्वास्थ्यअवस्थाबारे जानकारी दिन बिहीबार साँझ अस्पतालमा आयोजित पत्रकारसम्मेलनमा अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले अहिले प्रधानमन्त्रीको स्वास्थ्य ठिक रहेको बताए।

‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य अहिले एकदमै ठिक छ, उपचारअघि पनि उहाँको स्वास्थ्य ठिक नै थियो,’ डा.पाण्डेले भने, ‘उहाँको रगतमा बढेको क्रियटाइनलाई क्लियर गर्न दुईपटक हेमोडायलाइसिस गरिएको छ ।’ बुधबार नै प्रधानमन्त्रीको पहिलो डायलाइसिस गरिए पनि अस्पतालले त्यसलाई लुकाउँदै आएको थियो।

‘प्रधानमन्त्री आजै बेलुकादेखि काममा फर्कन सक्नुहुन्छ’
प्रधानमन्त्रीको स्वास्थ्यअवस्था सामान्य रहेको र डायलाइसिसपछि अझै राम्रो भएको दाबी अस्पतालले गरेको छ। उपचारमा संलग्न टोलीलाई नलिई एक्लै पत्रकारसम्मेलनमा उपस्थित भएका निर्देशक डा.पाण्डेले भने, ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्यअवस्था उपचारपछि एकदमै राम्रो छ, उहाँलाई हाम्रो इन्स्टिच्युटले बेस्ट उपचार दिएको छ, उहाँमा आत्मबल दरो छ र निकै कम्फर्ट फिल गरिरहनुभएको छ ।’

निर्देशक पाण्डेले प्रधानमन्त्रीको उपचारको नेतृत्व गरेकी प्रमकी निजी चिकित्सक तथा ग्रान्डीकी मिर्गौला विभाग प्रमुख प्रा.डा. दिव्यासिंह शाहसहित आफू (मेडिकल डाइरेक्टर) समेतले हस्ताक्षर गरेको डिस्चार्ज लिखत पढेर सुनाए। प्रधानमन्त्रीको थप उपचारबारे भने डा.पाण्डेले पत्रकारको अनेक प्रयासका बाबजुद पनि केही खुलाउन चाहेनन्।

निर्देशक डा. पाण्डेले प्रधानमन्त्री डिस्चार्ज भएलगत्तै कामकाजमा फर्कन सक्ने दाबी गरे । प्रधानमन्त्रीले भोलिदेखि काम गर्न सक्नुहुन्छ त भन्ने पत्रकारको जिज्ञासामा निर्देशक डा. पाण्डेले भने, ‘मलाई लाग्छ, उहाँले आज बेलुका नै पनि मिटिङ गर्न सक्नुहुन्छ।’
प्रकाशन मिति–२०७६ साल कात्तिक १४ गते विहीवार ।