काठमाडौ। बौद्धिक क्षेत्रका प्रभावशाली व्यक्तित्व डाक्टर अजयक्रान्ति शाक्य आसन्न मंसिर २१ गते हुनगैरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका छन्। काठमाडौ क्षेत्र नंबर ९ को (क) बाट डाक्टर शाक्य प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका हुन्।

Dr. Ajaya Kranti Shakya

सिंगो काठमाडौकै मुहार उज्यालो बनाउने अडानकासाथ नेकपा एमालेवाट प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका डाक्टर शाक्यले नेकपा एमालेको मूलधारमा बसेर राजनीति गरेको पनि अढाई दशक भैसकेको छ। विशेषत पर्दापछाडि बसेर नेपाली जनताको हर दुःख तथा पीडामा साथ दिएर सक्दो सेवा दिने कार्य डाक्टर शाक्यवाट भएको छ।

डाक्टर अजयक्रान्ति शाक्यको जीवनयात्रा सरसर्ती हेर्ने हो भने त्रिवेणी जस्तो छ। काठमाडौको लगन टोलमा डाक्टर शाक्यको जन्म भएको हो। क्षेत्र नंबर ९ कै स्थानीय बासिन्दा र क्षेत्र नंबर ९ का स्थानीय जनताको सुख–दुःखका साथी बौद्धिक व्यक्तित्व हुन्–डाक्टर शाक्य। ४८ वर्षका डाक्टर शाक्यले विद्यालय तहको अध्ययन घर नजिकैको विश्व निकेतन माध्यामिक विद्यालयबाट पूरा गरेका हुन्।

१३ वर्षको कलिलो उमेरमै ‘चेस च्याम्पियन’ बनेका डाक्टर थिए। १३ वर्षको उमेरमै चेसको राष्ट्रिय खेलाडी बनेर दर्जनौँ पुरस्कार जित्न सफल डाक्टर शाक्य १५ वर्षको उमेरमा चेसको राष्ट्रिय ‘कोचर’ समेत बनेका थिए। दुई वर्ष कोचरका रुपमा काम गरेका डाक्टर शाक्यलाई १३ वर्षको उमेरदेखि नै कम्युनिष्ट राजनीतिको रंग चढ्ेको थियो ।

‘१३ वर्षको उमेरमै म चेसको राष्ट्रिय खेलाडी बनेको थिएँ,’ डाक्टर शाक्यले भने–,‘त्यसैबेला रसियन राजदूतसँग चेस खेल्न दूतावास जान्थेँ। त्यहाँको कम्युनिष्ट वातावरणले मलाई पत्तै नपाई कम्युनिष्ट बनाएछ।’ डाक्टर शाक्यले अक्टोवर क्रान्ति, विश्वको श्रमिक आन्दोलन आदिका बारेमा पनि दुतावास आवत–जावतकै बेलामा बुझ्ने अवसर प्राप्त गरेका थिए। टंक कार्की, महेश मास्केलगायतका नेताहरु डाक्टर शाक्यको घर नजिकै बस्थे। उनीहरुसँगको चिनजानले पनि डाक्टर शाक्यलाई कम्युनिष्ट तिरको झुकाव बढ्दै गएको हो।

जब डाक्टर शाक्यले विसं २०४० सालमा एसएलसी गरे। त्यसपछि भने डाक्टर शाक्य संगीतमा होमिए। भर्खर एसएलसी पास गरेका डाक्टर शाक्यको त्यसैबेला टोलटोलमा हुने सांगितिक कार्यक्रममा माग हुन्थ्यो । ड्रमसेट, कंङगोलगायतका बाजाप्रति बढी रुचि राख्ने शाक्यलाई कम्युनिष्ट बन्न त्यो सांगीतिक माहोलले पनि थप ऊर्जा प्रदान गरेको थियो। भर्खर देशमा बहुदल आएको थियो। पञ्चायती व्यवस्था अन्त्य गरी बहुदलीय व्यवस्था प्राप्तिका लागि देश नै जुरुक्क उठेका बेला डाक्टर शाक्यले कम्युनिष्टप्रतिको झुकावलाई दवाएर राख्ने कुरै भएन।

डाक्टर शाक्य पनि त्यही आन्दोलनमा होमिए । संगीतका क्षेत्रमा पनि पाइला अघि बढाउँदै गरेका डाक्टर शाक्यले संगीत दिएका पप– एल्वम ‘प्रेम स्पर्स’ २०४८ सालमा बजारमा आयो। त्यसपछि नेपालका ख्यातिप्राप्त गायक प्रेमध्वज प्रधानले गाएको नेवारी गित ‘छन्त एके धुङ्का’ मा पनि दिएको संगीतले त तहल्का नै मच्चाउन सफलता प्राप्त गरेको थियो । डाक्टर शाक्यका एकल संगीतका चार वटा एल्वम वजारमा आएपछि शाक्य संगीतको क्षेत्रमा पनि अत्यन्त चर्चित बनेका थिए।

‘व्यक्ति एक आयम अनेक’ भने जस्तै डाक्टर शाक्यले जे–जेमा हात हाले। त्यसमा सफलता प्राप्त गर्दैगए । उसु र मार्सलआर्टको खेलाडी समेत रहेका डाक्टर शाक्यले विसं. २०४६ सालदेखि नै लेखन यात्रालाई पनि अघि बढाए। धर्म–संस्कृतिका विषयमा बढी कलम चलाउने शाक्यले ‘द शाक्यज्’, ‘मृत्यु संस्कार’, ‘दशकर्म संस्कार’ जस्ता पुस्तक लेखेर बजारमा ल्याएका छन्।

विसं.२०४६ सालको आन्दोलनसँगै राजनीतिमा बढी सक्रिय बनेका डाक्टर शाक्यले पार्टीका विभिन्न कमिटीमा बसेर काम गरेका छन् । जनसाँस्कृतिक मञ्चको केन्द्रीय सदस्य एक कार्यकाल र केन्द्रीय कोषाध्यक्षका रुपमा दुई कार्यकाल विताएका डाक्टर शाक्यले जिफण्टमा योजना आयोगको सदस्यका रुपमा दुई कार्यकाल काम गरे । जिफण्टमै विदेश विभागमा रहेर एक कार्यकाल काम गरेका डाक्टर शाक्यले उपत्यका समन्वय समितिको विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन्।

संविधान जारी भएपछि बनेको नेकपा एमालेका प्रभावशाली नेता तथा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा प्रधानमन्त्रीको कार्यालयमा विज्ञान प्रविधि सामाजिक साँस्कृतिक विकास सल्लाहकारका रुपमा काम गरेका डाक्टर शाक्यले वुद्धिज्म्मा विद्यावारिधी गरेर डाक्टर बनेका हुन्।

भ–ूगर्भ र भौतिक शास्त्र, अर्थशास्त्र, सामाजिकशास्त्र र संगीतमा स्नातकका साथै तीन वटा विषयमा स्नातकोत्तरको अध्ययन पूरा गरिसकेका छन्। आफूले प्राप्त गरेको ज्ञान र सीपलाई राजनीतिका माध्ययमबाट देशको विकास निर्माणमा खर्च गर्ने अठोटसहित प्रदेशसभामा उम्मेदवार बनेका डाक्टर शाक्यले जनताको मुहारमा मिठा भाषणबाट होइन कामबाट मुस्कान दिने एक मात्र ध्येय रहेको पनि बताएका छन्।
प्रकाशन मिति–२०७४ साल कात्तिक २१ गते मंगलवार ।