काठमाडौं। नेपालको चलचित्र विकास बोर्ड अन्तर्गत रहेको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्धन समितिको आयोजनामा तीनदिने कार्यशाला गोष्ठी संपन्न भएको छ। धुलिखेलमा तीन दिने कार्यशाला गोष्ठी बुधवार सम्पन्न भएको हो।

आदिवासी जनजाति चलचित्रकर्मी संघ–संस्थाहरुको रणनिति तर्जुमा र सक्षमता विकास तालिमको रुपमा सम्पन्न भएको सो वर्कशपमा आदिवासी जनजाति चलचित्रकर्मीहरुका विभिन्न १३ वटा संघ संस्थाहरुका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

करीव ६५ जना प्रशिक्षार्थीहरु सम्मिलित सो कार्यशालामा संस्थागत क्षमता अभिवृद्धी विज्ञ नहकुल केसी प्रमुख स्रोत व्यक्तिका रुपमा रहेका थिए भने नेपालभाषाका प्रथम चलचित्र पत्रकार एवं नेपाल आदिवासी जनजाति चलचित्र महासंघका संस्थापक उपाध्यक्ष विजयरत्न तुलाधर असंबरेले नेपालमा आदिवासी जनजाति चलचित्रहरुको वर्तमान स्थिति र चुनौतिबारेमा कार्यपत्र प्रस्तुत गरेका थिए। सो कार्यशालामा सिस्टम युनिभर्सिटी अफ मेरिल्याण्डका प्रा.डा. विष्णु घिमिरेले आदिवासी जनजातिहरु संस्कृतिको कला पक्षबारे विश्लेषण गरेका थिए।

तीन दिने कार्यशाला गोष्ठीको समापन कार्यक्रममा प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईले कार्यशालामा सहभागीहरुलाई प्रशंसा पत्र प्रदान गरेका थिए ।
प्रकाशन मिति–२०७६ साल साउन १६ गते विहीवार ।