टेक्सास। अमेरिकामा आयोजित छैठौं ‘मिस नेपाल युएसए २०१८’को ताज नेब्रास्का निवासी २४ बर्षिय दिलाशा न्यौपानेले जितेकी छन् । १६ प्रतियोगीलाई पछि पार्दै उनले उक्त उपाधि हात पारेकी हुन्। कार्यक्रममा शिर्ष उपाधिका साथ उनले मिस एकाडेमिक एक्सिलेन्स अवार्ड समेत हात पारेकी छन्।

टेक्सस शहरमा १९ अगस्टमा भब्य तथा सभ्य कार्यक्रम सहित सम्पन्न प्रतियोगितामा फस्टरनरअफ टेक्ससकी २२ बर्षीया पोसा घर्तीमगर तथा सेकेण्ड रनरअपको उपाधि कोलोराडोकी २१ बर्षीया कृति ढुंगेलले जितेकी हुन्। घर्तीमगरले मिस पर्सनालिटी, मिसकल्चर र मिस फ्रेन्डली विधामा समेत अवार्ड जितेर गजबै गरेकी छन्।

प्रतियोगितामा टेक्ससकी आयशा ओझा मिस पब्लिक च्वाइस बनिन्। सोर्वे फाउण्डेशनको सद्भावना दुत समेतको अवसर हात पारेकी आयशाले मिस सोशल एक्सिलेन्सको समेतको अवार्ड चुमिन्।

यसैगरी अदीति श्रेष्ठले मिस डिसिपिलिन, निलिया गुरुङले मिस फोटोजेनिक, विना श्रेष्ठले मिस क्याटवाक, स्वीकृती भट्टराईले मिस ट्यालेन्ट र वियन्का अधिकारीले मिस नेपाल टेक्ससको उपाधि हात पारे।

सन् २०११ देखि अमेरिकाको न्युयोर्क शहरबाट सुरु भएको प्रतियोगीता ‘मिस नेपाल युएसए’का संस्थापक परिकल्पनाकार इप्लानेट नेपालका सन्तोस सापकोटा र अमेरिकामा चर्चित युवा नेपाली ईण्टरप्रेनर अमित शाह हुन्।

टेक्ससको डलास नजिकको शहर सिटी अफ प्लानोले समेत सहकार्य गरेको प्रतियोगीतामा नेपाली समाज टेक्सस र नेपाल पर्यटन बोर्डको समेत सहभागीता रहेको थियो।

पूर्व मिस नेपाल मेलिना जोशी, बरिष्ठ कोरियोग्राफर सुरेश मानन्धर र फोटोग्राफर राजिव श्रेष्ठ लगायतको प्रशिक्षक बाट बिभिन्न प्रशिक्षण सहित प्रतियोगी फाइनलमा उत्रिएका थिए। प्रतियोगी श्रृंगार गर्ने जिम्मेवारी मञ्जु दुलाल सापकोटाले गरेकी थिइन्।

अमेरिकामा रहेका नेपाली युवतीको सौन्दर्य र बौद्धिकता निखार्ने उदेश्य रहेको यो प्रतियोगीता ‘ईम्पावरिङ्ग युथ, प्रोमोटिङ नेपाल’ मूल नाराका साथ आयोजना हुँदै आएको छ। यसपटकको प्रतियोगीताको होष्ट संजय गुप्ताले गरेका थिए भने प्रतियोगीको फेसन डिजाइन नेपालका प्रसिद्ध फेसन डिजाइनर तथा नायिका एवम् मोडल क्षितिजा शाक्य र लजिमा सुब्बाले तयार गरेका थिए।

क्षितिजा शाक्यले तयार पारेको मौलिक नेपाली इभिनिङ गाउनको कार्यक्रममा अत्यन्त चर्चाको विषय बनेको थियो।
सौन्दर्य प्रतियोगिताको यो छैठौ संस्करण नेपाल ११ इन्टरटेनमेनन्का प्रतीक सुवेदीको ब्यावस्थापनमा सम्पन्न भएको थियो।
प्रकाशन मिति–२०७५ साल भदौ ७ गते विहीवार ।