Naw Yug Shresthaकाठमाडौ। नेपाली फुटबल खेलमा चम्किला तारा मानिएका नवयुग श्रेष्ठ नेपाली सेनामा अमल्दार पदमा कार्यरत सैनिक जवान हुन्। यिनै नेपाली सेनाका जवान नवयुगले फुटबल खेल मार्फत नेपालको नामलाई विश्वमा चम्काएको स्यावासी स्वरुप नेपाली सेनाले उनलाई एक तह बढुवा गरेको छ।

अमल्दारवाट हवल्दार पदमा नवयुगलाई बढुवा गरेको जानकारी नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले दिएका छन्। कालीबक्स गण धरानमा कार्यरत नवयुगको मंगलवारवाट लागू हुनेगरी बढुवा गरिएको प्रवक्ता कार्कीले भनेका छन्।

Naw Yug Shrestha in Army

बंगलादेशमा भएको बगबन्धु अन्तरराष्ट्रिय फुटवल खेल तथा भारतमा आयोजित १२ औ दक्षिण एसियाली खेलकुदमा नेपाललाई स्वर्ण पदक जिताउन गरेको महत्वपूर्ण भूमिकाको स्यावासी स्वरुप बढुवा गरिएको नेपाली सेनाले जनाएको छ। नेपालको फुटवल खेलमा निक्कै राम्रा र तकडा खेलाडी मानिएका नवयुगले नेपाली फुटवल खेलमा नवयुग नै ल्याएको ठहर रहेको छ।
प्रकाशन मिति–२०७२ साल फागुन १९ गते बुधवार ।