काठमाडौ। नामी चित्रकार तथा गायक एवम् संगीतकार ज्योतिप्रकाशले नयाँ गीतिसंग्रह ‘जुन र ज्योति’ सार्वजनिक गरेका छन्।

बुधबार आयोजित कार्यक्रममा नेपालका गोल्डेन भ्वाइस ख्यातिप्राप्त बरिष्ठ गायक प्रेमध्वज प्रधान, चित्रकार केके कर्माचार्य, अग्रज गीतकार चुडामणि देवकोटा, गीतकार नवराज लम्साल, पत्रकार शान्तिप्रियलगायतले सामुहिक विमोचन गरेपश्चात सार्वजनिक भएको हो।

विमोचित गीति–संग्रहमा पाँच गीत छन् । ती पाँचवटै गीत चन्द्र भट्टचनले लेखेका हुन् । संग्रहमा जाने निष्ठुरी‘, बिन्ती छ मलाई‘, कति रातहरू‘, तिमीसँग‘र हिजोभन्दा आज तिमी‘गीत छन् । यी सबै गीतमा स्वर ज्योतिप्रकाशकै छ। सबै गीतमा संगीत पनि ज्योतिप्रकाशले नै गरेका हुन्।

संग्रहका दुई गीत जाने निष्ठुरी‘र बिन्ती छ मलाई‘ को भिडियो विमोचन कार्यक्रममा रिलिज गरियो। यस भिडियोलाई शान्तिप्रिय र सुमन पण्डितले निर्देशन गरेका हुन् । चित्रकार तथा गायक ज्योतिप्रकाशका अनन्य मित्र प्रसिद्ध फोटोग्राफर च्याङ्बा लामाले ज्योतिप्रकाशको चित्र सिर्जनाजस्तै स्वर पनि अत्यन्त कर्णप्रिय भएको भिजन संसार डटकमलाई बताएका छन्।


प्रकाशन मिति–२०७५ साल असोज ४ गते विहीवार ।