काठमाडौं। भारतमा नेपालको पर्यटन प्रवद्र्धनका निम्ति भारतीय संसद्का पूर्व सदस्य एवं अभिनेत्री जया प्रदालाई सदभावना दूतमा नियुक्ति गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको शुक्रबार मन्त्रीस्तरीय बैठकले कलाकार जया प्रदालाई आगामी चार वर्षका लागि सद्भावना दूतमा नियुक्त गरेको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले बताएका छन्।

मुलुकको आर्थिक आर्जन तथा रोजगारी सिर्जना गर्ने एक महत्वपूर्ण स्रोत पर्यटन क्षेत्र नै भएको र पर्यटकीय हिसाबले भारत नेपालका लागि ठूलो स्रोत बजार पनि भएको सन्दर्भमा यो नियुक्तिले भविष्यमा बलियो आधार तयार पुग्ने विश्वास लिइएको छ। साथै, दुई देशबीच पर्यटन प्रवद्र्धनका गतिविधि अघि बढाउन ऐतिहासिक महत्व राख्ने अपेक्षा गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख रहेको छ।

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष अभियानको रुपमा मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको सन्दर्भमा सदभावना दूतको माध्यमबाट भारतबाट अधिक सङ्ख्यामा पर्यटक आउने बताइएको छ।


प्रकाशन मिति–२०७५ साल असोज ६ गते शनिवार ।