Finance Minister Bishnu Prd Paudel

काठमाडौं। नेपालमा लकडाउनको एक बर्ष पुग्दा फेरि पहिला जस्तै लकडाउन हुने हो कि भन्ने जनमानसमा त्रास फैलिरहेको वर्तमान अवस्थामा सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लकडाउन नहुने वताएका छन्। मन्त्री पौडेलले कोभिड संक्रमण रोकथामका लागि लकडाउन नहुने स्पष्ट पारेका हुन।

कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने तर, लकडाउन र सीमानाका बन्द नगरिने मन्त्री पौडेलले वताएका हुन। कोभिड रोकथामका लागि सीमानाका बन्द गर्ने अथवा लकडाउन गर्ने सरकारको सोच नभएको मन्त्री पौडेलको भनाइ छ।

अर्थमन्त्री पौडेलले सरकार बजेटको तयारीमा जुटिसकेको पनि भनेका छन्। सिद्धान्त र प्राथमिकताको तयारी अन्तिम चरणमा पुगेको र बजेटको तयारी पनि सुरु भइसकेको बताएका छन् । कोभिडपछिको आर्थिक पुनरुत्थान, रोजगारी सिर्जना लगायतका विषयमा केन्द्रीत भएर बजेट निर्माण गरिने अर्थमन्त्री पौडेलले खुलासा गरेका छन्।

राष्ट्रिय प्राथमिकताका विषयहरूलाई निश्चित गर्ने र बजेट कार्यान्वयनलाई सुनिश्चितता गर्ने विषयलाई ध्यान दिएर बजेट निर्माण गरिने पनि अर्थमन्त्री पौडेलले स्पष्ट पारेका छन् । कोरोना भ्याक्सिन खरिदका लागि बजेटको अभाव हुन नदिने मन्त्री पौडेलको भनाइ छ। नेपालमा गत बर्ष २०७६ चैत्र ११ गते कोरोना महामारीको कारण चार महिना लगातार लकडाउन भएको थियो।
प्रकाशन मिति–२०७७ साल चैत्र १२ गते विहीवार ।