काठमाडौं। नेपालकी अर्गानिक गायिका पूजा सुनुवार सर्वोत्कृष्ट सुनुवार भाषाको गायिका बन्न सफल भएकी छन्। अर्गानिक गायिका सुनुवारलाई ओएस नेपाल म्युजिक अवार्ड–२०७६ मा सर्वोत्कृष्ट सुनुवार गायिकाको अवार्ड जितेपछि सुनुवार भाषाको सर्वोत्कृष्ट गायिका पनि बनेकी हुन्।

 

सुनुवार जाती–समुदायको भाषाको गीत ‘नम्सेवल’ अर्थात नमस्कार बोलको यो गीत गायिका सुनुवारले गाएपछि सुनुवार समुदाय माझ निकै लोकप्रिय बन्दैआएको छ। कृष्ण सुनुवारको शब्द,पुष्कर सुनुवारको संगीत तथा उत्तम सुनुवारको भाषानुवाद एवं केशव विश्वकर्माको छायांकन र नवीन सुनुवारको सम्पादन रहेको उक्त गीतलाई गायिका सुनुवारले भाषा नबुझ्नेहरु लाई पनि नाचौं–नाचौं लाग्ने गरि अत्यन्त आकर्षक ढंगले गाएर सवैलाई मोहित बनाउंदै आएकी छन्।


यस अघि पनि संगीतका विभिन्न विधामा गायिका सुनुवारले देश–विदेशमा आयोजना भएका राष्ट्रिय तथा अन्तरराष्ट्रिय थुप्रै अवार्ड र सम्मानहरु प्राप्त गरिसकेकी छन्। गायिका सुनुवारले भाषाभाषी गीत गायनबाट प्राप्त गरेको यो दोस्रो अवार्ड हो। यसअघि उनले नेपालभाषा गीतबाट पनि सर्वोत्कृष्ट गायिकाको अवार्ड जितिसकेकी छन्। गायिका सुनुवार सवै भाषाका गीत गाउन सक्षम अर्गानिक नेपाली गायिका हुन्।


प्रकाशन मिति–२०७६ साल कात्तिक ७ गते विहीवार ।