काठमाडौ। नेपाली कांग्रेसका चर्चित नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको रवैयाले नराम्ररी चुनाव हार्नुपरेको बताएका छन् । शुक्रबार सुरु भएको पार्टी केन्द्रीय समितिको बैठकमा बोल्दै नेता सिंहले देउवाको चरित्र अप्रजातान्त्रिक र अराजक शैलीको भएको भन्दै तिखो टिप्पणी पनि गरेका छन्।

केन्द्रीय समितिको बैठकमा लिखित सुझाव दिँदै नेता सिंहले नेपाली कांग्रेसको इतिहासमै पहिलो पटक पार्टीको विधानलाई सभापति देउवाले लत्याउँदै स्वेच्छाचारी रुपमा अघि बढेको आरोप पनि लगाएका छन् ।

सभापति देउवाले कांग्रेसमा रहेको ६०–४० को अवस्थालाई अन्त्य गर्ने बाचासहित १३ औँ महाधिवेशनबाट सभापति भएको बताउँदै सिंहले दुई वर्षको अवधिमा पार्टी गुटहरुको झुन्डमा परिणत भएको आरोप समेत लगाए।

नेपाली कांग्रेसमा रहेको कथित ६०–४० को भागवण्डा हटाएर सबैलाई समेटी पार्टीलाई एकढिक्का बनाउँछु भन्ने अठोटसहित १३ औं महाधिवेशनबाट देउवा सभापति बन्नुभएको हो’, नेता सिंहले भनेका छन्, ‘वर्तमान सभापतिजीले पार्टी सञ्चालनको यो २ वर्षको अवधिमा पार्टीलाई एक बनाउनुको साटो गुटलाई नै संरक्षण गरेका कारण हामी इतिहासमै सबैभन्दा कमजोर भएका छौँ ।’

पार्टी इतिहासमै सबैभन्दा कमजोर भइसकेको अवस्थालाई समिक्षाको विषय बनाउनै पर्ने नेता सिंहको अडान रहेको छ। ‘पार्टी कार्यकर्तालाई विभिन्न राजनीतिक नियुक्ति र विभिन्न तहमा टिकट वितरण गर्दा वरिष्ठता, योगदान, योज्ञता र क्षमता आदिको कुनै प्रवाह गरिएन’, सिंहले अगाडि भनेका छन्, ‘गुटगत आधारमा आफ्ना निकट व्यक्तिलाई बढी अवसर दिएर इमान्दार र योग्लाई पाखा लगाउँदा निर्वाचनमा परेको असरबारे गम्भीर विचार विमर्श र अध्ययन हुनु आवश्यक छ ।’

नेता सिंहले देउवाले प्रधानमन्त्री हुँदा लोक नै हँसाएको पनि आरोप लगाए । ‘नेपालको इतिहासमा नै लोक हसाँउने गरी प्रधानमन्त्रीका हैसियतमा हाम्रो सभापतिले ६४ जनाको मन्त्रिमण्डलको कीर्तिमान कायम गरेर इतिहासमा नाम लेख्नु भएको छ’, सिंहले भनेका छन्, ‘सभापतिजीले प्रधानमन्त्रीका हैसियतमा यस्तो गौरवशाली कीर्तिमानी त राख्नु भयो ।

प्रकाशन मिति–२०७४ साल चैत्र १० गते शनिवार ।