काठमाडौं । विगत सात महिनादेखि कोरोना महामारीका कारण नेपाली चलचित्रको गतिविधि ठप्प नै बनिरहेको छ। यो अवस्थामा दशैंको पहिलो दिन अर्थात घटस्थापनाका दिनमा आएर नेपाली चलचित्र उद्योग चलायमान हुने क्रममा रहेको छ।

यस पावन दिन पारेर नेपाली चलचित्र उद्योगमा नयाँ चलचित्र निर्माण गर्ने घोषणा गरिएको छ। दृष्यालय सिनेमाको ब्यानरमा निर्माण हुन लागिएको नयाँ चलचित्रको नाम नै भाँडाकुटी रहेको हो ।

काठमाडौंमा सामाजिक दुरी कायम गर्दै औपचारिक कार्यक्रम गरेर चलचित्र भाँडाकुटी निर्माणको घोषणा गरिएको छ। नायिका बेनिशा हमाल र कलाकार मुकुन भुषाल लगायतको अभिनय रहने चलचित्र भाँडाकुटी आउँदो फाल्गुन महिनावाट वुटवल आसपास क्षेत्रवाट छायाँकन प्रारम्भ गरिने निर्माण पक्षले जनाएको छ ।

बैबाहिक परिवेश सहितको सामाजिक कथामा निर्माण हुनलागिएको चलचित्र भाँडाकुटीलाई किरण बिकले निर्देशन गर्दैछन् । किरण बिककै कथामा कलम खड्काले चलचित्र भाँडाकुटी निर्माण गर्न लागेका हुन् । ओस्कार फिल्म कलेजवाट पास आउट भएका यूवाहरुको समूह चलचित्र भाँडाकुटीमा अग्रता रहने पनि जनाइएको छ ।


प्रकाशन मिति–२०७७ साल कात्तिक ३ गते सोमवार ।