काठमाडौं। पचासको दशकका अत्यन्त चर्चित पप कलाकारहरुको प्रस्तुतिमा दशैं हंगामा कार्यक्रम हुन लागेको छ। यही असोज १९ गते काठमाडौंको न्यूरोड विशालवजार स्थित सासा इभेन्ट भेन्यूमा दशैं इभ २०७५ हुन लागेको हो।

ताहाचल फोरम कम्युनिटीको सहयोगार्थ बरिष्ठ पप गायक भीम तुलाधरको संयोजनमा कार्यक्रम हुन गैरहेको हो। यस दशैं च्यारिटी प्रोग्रामलाई धुमधाम आयोजना गर्नका लागि अन्तिम तयारी भैरहेको जानकारी पनि पप गायक भीम तुलाधरले भिजन संसार डटकमलाई बताएका छन्।

दशैं इभ २०७५ हंगामा कार्यक्रममा अत्यन्त चर्चित पप गायकहरु संजय श्रेष्ठ, भीम तुलाधर, बबिन प्रधान, जेम्स प्रधान, प्रवेशमान शाक्य, सचिन रौनियार, किरण खड्गी, लसता जोशी,रविन महर्जन, रवि रिमाल, सुरेश मानन्धर र बबिता मानन्धरको हंगामय गायन हुने भएको छ।

साथमा चर्चित हांस्य अभिनेता चाकुचा सविन शाक्यको साथमा आर्यन नकर्मी र सपना शर्माको बेजोड हाँस्य प्रस्तुति हुने भएको छ। त्यसैगरेर व्याकअप ब्याण्डका रुपमा ज्योति घिमिरे, भुपेन्द्र बज्राचार्य,प्रविण मानन्धर,माणिकमान सिंह र रुपमसिंह गुरुङ रहने भएको छ। कार्यक्रमको होस्ट चर्चित कार्यक्रम प्र्रस्तोता हरिशरण लामिछानेले गर्ने भएको छ।
प्रकाशन मिति–२०७५ साल असोज १६ गते मंगलवार ।