काठमाडौं। नेपालको गौरब र शान मानिएको ऐतिहासिक इन्द्रजात्राको अवसरमा नेवाःसंकिपा नखः अर्थात नेपालभाषा चलचित्र पर्व संपन्न भएको छ।

मच्छिन्द्र क्लबको आयोजनामा काठमाडौंको जनबहालको सडकमा मज्जाले सार्वजनिक रुपमा पलेटी कसेर परम्परागत रुपमा चलचित्र हेर्ने पर्व गजबले संपन्न भएको हो।

 

नयाँ सोच र फरक शैलीले इन्द्रजात्राको अवसरमा चलचित्र प्रदर्शन गर्ने पर्वकै रुपमा आयोजना भएको नेवाःसंकिपा नखःमा लामो तीन चलचित्र बसन्त–ऋतु, धाःसा पत्या मजु र अंश प्रदर्शन गरिएको थियो।

त्यसैगरेर, यो बर्ष ऐतिहासिक रुपमा नै संपन्न भएको सटमूवी प्रतियोगितामा पुरस्कृत तथा सहभागी ९ वटा चलचित्र पनि खुल्ला सडकमा सार्वजनिक प्रदर्शन गरिएको थियो। नेपालभाषी तथा गैरनेपालभाषीहरुले पनि नेवाःसंकिपा नखःलाई पलेटी कसेर उत्साहपूर्वक हेरेको पाइयो।

सहभागी प्रदर्शित चलचित्रका कलाकार तथा प्राविधिकहरुलाई काठमाडौं महानगरपालिका वडा नंबर २५ का वडा अध्यक्ष नीलकाजी शाक्यले सम्मान–पत्र प्रदान गरेका थिए।

कार्यक्रममा दर्शनवीर शाक्य निर्मित तथा निर्देशित सटमूवी द मिथ र रोशन प्रजापतिको डकुमेन्ट्री फिल्म सेक्रेट साँखुलाई नगद २५ हजार सहितको पुरस्कार प्रदान गरिएको थियो। बाल कलाकार अभिनव जोशी र नस्वाः जोशीलाई विशेष पुरस्कार पनि प्रदान गरिएको थियो।

साथमा नेपालभाषा चलचित्रका प्रथम चलचित्र पत्रकार विजयरत्न तुलाधर, चलचित्र सम्पादक मन्दिल श्रेष्ठ, राजमतिकी नायिका हिसिला महर्जन, क्यामेरामेन दीपक बज्राचार्य, अग्रज पत्रकार सुरेश किरण मानन्धर र साउण्ड रेकर्डिष्ट राजकृष्ण श्रेष्ठलाई चलचित्र प्रतियोगितामा निर्णायक भएर महत्वपूर्ण कार्य गरेवापत कदर–पत्र प्रदान गरिएको थियो।

प्रकाशन मिति–२०७५ साल असोज ११ गते विहीवार ।