काठमाडौँ। विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका १५ सम्पदा पुनःनिर्माण गरिएको छ। विसं २०७२ वैशाखमा गएको भूकम्पबाट क्षतिग्रस्त ४६ सम्पदामध्ये १५ सम्पदाको पुनःनिर्माण गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

भूकम्पबाट क्षति पुगेका लालगणेश, राजराजेश्वरीको श्राद्धपाटी, मूलभट्ट निवास, शङ्कराचार्य मन्दिर, कुलानन्द झा सत्तल, वनकाली सत्तल, गुह्येश्वरी मन्दिरस्थित वाग्मती नदीअघिको सत्तल, पन्ध्र शिवालय सत्तल, चौतरिया शिवालय, अमरकान्तेश्वर/सुरेशकान्तेश्वर, कोटीलिङ्गेश्वर र ताराप्रकाशेश्वर मन्दिर निर्माण सम्पन्न भएको हो।

त्यसैगरेर, चन्दनपाटी, गुरुग्रन्थ मन्दिर, निर्मला अखडा र भूकम्पले भत्किएका संरचनाका भग्नावशेष हटाउने काम सम्पन्न गरिएको पनि कोषले भनेको छ। चालू आर्थिक वर्षमा जयवागेश्वरी र विश्वरुप मन्दिर पुनःनिर्माण गर्न लागिएको छ। यस वर्ष थप १३ सम्पदा पुनःनिर्माण गरिँदैछ। १८ सम्पदा पुनःनिर्माण गर्न बाँकी रहेको कोषले जनाएको छ।
प्रकाशन मिति–२०७५ पुष ९ गते सोमवार ।