ललितपुर। नेपालमा पहिलो पल्ट विश्वमा नै ख्यातिप्राप्त नेपाली मौलिक परम्परागत चर्यानृत्यका बारेमा भएको पाँचदिने कार्यशाला गोष्ठी संपन्न भएको छ। बैशाख ६ गते विहीवारका दिन अक्षेश्वर महाबिहार पुल्चोकमा गोष्ठी संपन्न भएको हो।

नृत्य निर्देशक संघ नेपाल ललितपुर शाखाको आयोजनामा पहिलो पटक चर्या नृत्य सम्बन्धि कार्यशाला गोष्ठी शुभारम्भ भएर पाँचौ दिनमा समापन गरिएको हो। पाँचदिनसम्म गोष्ठीको स्रोत ब्यक्ती अमेरिका निवासी ख्यातिप्राप्त चर्या नृत्यका गुरु प्रज्वल रत्न बज्राचार्यले चर्या नृत्यको ऐतिहासिक कालखण्डदेखि आधुनिकतासम्मका यथार्थहरु गोष्ठीमा पस्केर प्रशिक्षण प्रदान गरेका थिए।

गोष्ठीमा सहभागिता जनाउने सवैलाई प्रमुख अतिथि ललितपुर महानगरपालिका वडा नंबर १६ का वडा अध्यक्ष तथा चीरपरिचित समाजसेवी निर्मलरत्न शाक्यले गोष्ठीको प्रमाण पत्र प्रदान गरेका थिए। वडा अध्यक्ष शाक्यले चर्या नृत्य नेपालको अत्यन्त मौलिक नृत्य भएकोले यसको जगेर्ना गर्न महानगरपालिकाको सहयोग र साथ सदा रहने प्रतिबद्धता व्यक्त गर्दै यसका लागि महानगरपालिकामा पर्यटन र संस्कृति संरक्षण शाखाको नै विस्तार हुन लागेको जानकारी समेत दिएका छन्।

समापन तथा प्रमाण–वितरण कार्यक्रममा नृत्य निर्देशक संघ नेपालका केन्द्रिय अध्यक्ष भुवन श्रेष्ठ, उपाध्यक्ष संजय शर्मा राजोपाध्याय लगायतले चर्या नृत्यको आवश्यकता र यसको महत्वको विषयमा प्रकाश पारेका थिए।
प्रकाशन मिति–२०७५ साल बैशाख ६ गते विहीवार ।