काठमाडौ । बलिउडका चर्चित अभिनेता सलमान खानले नेपाल आउने अनुमति पाएका छन्। कृष्णसार शिकार मामिलामा ५ वर्षको सजाय पाएका सलमानलाई धरौटीमा रिहा गरेको जोधपुर सेशन कोर्टले मंगलबार विदेश जाने अनुमति दिएको हो।

 


सलमानले अमेरिका, क्यानडा र नेपालसहित चार देशमा प्रस्तुतिका लागि जानुपर्ने भन्दै अदालतसमक्ष अनुमतिका लागि निवेदन दिएका थिए। अदालतले उनको अनुरोध स्वीकार गर्दै नेपालसहित चार देश जाने अनुमति दिएको भारतीय समाचार संस्था एएनआईले ट्वीटरमार्फत जानकारी दिएको छ।

जोधपुरको २० वर्ष पुरानो कृष्णसार शिकार मामिलामा स्थानीय अदालतले उनलाई ५ वर्षको जेल र १० हजार जरिवाना सुनाएको थियो। फैसलापछि उनी ३ दिन जेल बसेका थिए। उनलाई सेशन कोर्टले ५० हजार धरौटीमा रिहा गरेको थियो।

ओडिसी इटरनेशनलले आयोजना गरेको ‘दबंग द टुर’ नामक कार्यक्रममा प्रस्तुती दिन सलमान नेपाल आउन लागेका हुन्। उनी मे २५ मा काठमाडौं आउने बताइएको छ। २६ मे अर्थात जेठ १२ गते यो कार्यक्रम हुँदैछ। यसअघि १० मार्चमा हुने भनिएको कार्यक्रम नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले विरोध जनाएपछि स्थगित भएको थियो भने सलमानको नेपाल भ्रमण पनि रोकियो।
प्रकाशन मिति–२०७५ साल बैशाख ५ गते बुधवार ।