काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि सार्वजनिक स्थलमा नै जुत्ता प्रहार भएको छ। काठमाडौंको राष्ट्रियसभा गृहमा भएको नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट प्रचण्डलाई ताकेर जुत्ता प्रहार भएको हो।
यद्यपि, प्रहार गरिएको जुत्ता प्रचण्डलाई भने लागेन।

जुत्ता प्रहार गर्ने व्यक्ति जुम्लाका युवा रतन तिरुवा हुन् । २२ वर्षे रतन पूर्व माओवादी कार्यकर्ता भएको बताइएको छ। रतनलाई प्रहरीले तत्काल नियन्त्रणमा लिइएको थियो। प्रचण्डलाई जुत्ता हान्ने जुम्लाका रतन तिरुवाले भाषण चित्त नबुझेपछि आवेशमा जुत्ता हानेको बयान दिएका छन्। राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारीको पहिलो स्मृति सभामा संबोधनपछि प्रचण्डलाई ताकेर जुत्ता हानेका रतनले भाषणका क्रममा वर्ग संघर्षको कुरा चित्त नबुझेपछि आवेशमा घटना भएको बताएका हुन्।

भाषण सुनिरहेको थिएँ। भाषणमा वर्गसंघर्षको कुरा चित्त बुझेन, आवेशमा आएर जुत्ता हानेँ’ सिंहदरबार प्रहरी वृत्तमा प्रहरीसमक्ष रतनले बयानमा भनेका छन्। रतनका बुवा मनु तिरुवाले सशस्त्र द्वन्द्वमा ज्यान गुमाएको रतनले प्रहरीसँगको वयानमा बताएका छन्।

उनै रतन तिरुवाले आफूलाई शहीदको छोरो भएको पनि दाबी गरेका छन्। तर, माओवादीले तयार पारेको ११ हजार २ सय २० जना शहीदको सूचीमा रतनका पिताको नाम छैन। १०९४ जना बेपत्ता योद्धाहरुको सूचीमा पनि रतनका बुवा मनु तिरुवाको नाम छैन । साविक माओवादीले संकलन गरेको शहीद र बेपत्ताको सूचिमा तिरुवाका बुबाको नाम फेला नपरेको हो।

प्रचण्डलाई जुत्ता प्रहार गर्ने रतन शहीदका छोरा नभएको जुम्लास्थित सिंजा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले पुष्टि गरेका छन्। रतनका बुवा भारत गएका बेला उतै बेपत्ता भएको तर रतनले शहिद भएको भनेर राज्यबाट विभिन्न लाभ लिइरहेको अध्यक्ष रावलको भनाइ छ। यसैवीच, तिरुवाका बुबा माओवादी युद्धका क्रममा मारिएको भन्ने रतनको दाबी असत्य भएको नेकपा जुम्लाले आइतबार विज्ञप्तिमार्फत जनाएको छ।

नेकपा जिल्ला अध्यक्ष वीरबहादुर कुँवरले विज्ञप्ति जारी गरेर रतन तिरुवा नेकपामा नरहेको उल्लेख गरेका छन्। ‘जति निन्दा गरे पनि नपुग्ने उक्त अराजनीतिक उद्दण्ड, आतंककारी कार्यमा संलग्न जुम्ला जिल्ला सिञ्जा गाउँपालिका निवासी मुन तिरुवाको छोरा कथित रतन तिरुवा भन्ने व्यक्ति कुनै शहीद परिवार र हाम्रो पार्टीको पनि समर्थकसम्म नभएको उक्त व्यक्ति विप्लव समूहको गतिविधिमा रहेको जानकारी गर्दछु’ विज्ञप्तिमा भनिएको छ।
प्रकाशन मिति–२०७६ साल फागुन १८ गते आइतवार ।