काठमाडौ। वितेको २०७२ सालमा प्रदर्शनमा आएको हिट फिल्म ’प्रेमगीत’ले प्रदीप खड्का स्टार बनेको छ। युवा–युवतीमाझ अहिले प्रदीपको क्रेज लोभलाग्दो छ । अनमोल केसी पछि निक्कै चर्चामा आउने हिरोको रुपमा प्रदीप देखिएका छन्। चकलेटी अनुहार, भुतुक्कै पार्ने मुस्कान र दमदार अभिनयले प्रदीपको फ्यान क्रेज दिन प्रतिदिन बढ्दै गएको छ।

Pradeep Khadka-Prem Geet 2हाल प्रदीप अभिनित फिल्म ’प्रेमगीत २’ प्रदर्शन भैरहेको छ। प्रदीपको क्रेज ’प्रेमगीत २’ हेर्न हलमा ओर्लिएको भिडबाट नै छर्लङ हुन्छ । मिडियामा आएका खबरलाई आधार मान्ने हो भने प्रदर्शनको एक हप्तामा फिल्मले ४ करोड ग्रस विजनेश गरिसकेको छ । हिजो शुक्रवारबाट ’’प्रेमगीत २’ दोस्रो हप्तामा प्रदर्शन भएको छ। प्रदीपलाई ’प्रेमगीत’ नाम खुबै फाप्यो।

अष्ट्रेलिया जान झोलामा कपडा समेत हालिसकेको बखत उनलाई ’प्रेमगीत’बाट अफर आएको थियो । ’प्रेमगीत’बाट सोच्दै नसोचेको सफलता हात पारेपछि प्रदीपलाई अष्ट्रेलिया जाने भुतले छाड्यो। फेरि उनलाई ’प्रेमगीत’को सिक्वेल ’प्रेमगीत २’ बाट अफर गरियो र आँखा चिम्लिएर उनले फिल्म साइन गरे।

Pradeep Khadka-Prem Geet 1’प्रेमगीत’ रिलिज भएपछि अन्य कुनै पनि फिल्ममा नदेखिएका प्रदीपले ’प्रेमगीत २’ बाट पर्दामा कमब्याक गरे । झण्डै डेढ वर्षदेखि प्रदीपको फिल्म हेर्न प्रतिक्षामा रहेका दर्शकलाई ’प्रेमगीत २’ तिर्खा मिटायो र प्रदीप फेरि स्टार नायकको सूचीमा उभिए। ’प्रेमगीत २’ रिलिज अगाडि नै प्रदीप निर्माता सन्तोष सेनले निमाण गर्ने फिल्म ’दीपेन्द्र सरकार’मा अनुवन्धित भैसकेका छन्।

’दीपेन्द्र सरकार’मा प्रदीपले पूर्व राजा दीपेन्द्रको भूमिका निर्वाहा गर्नेछन् । तर, यो फिल्म निर्माण हुन झण्डै ३ देखि ४ वर्ष लाग्ने अनुमान छ । यो बीचमा उनीे अन्य ब्यानरका दुई फिल्म खेल्ने सोचमा छन्। एक फिल्म त लगभग १५ लाख पारिश्रमिकमा उनले पक्का नै गरिसकेको स्रोत बताउँछ।

’प्रेमगीत’ र ’प्रेमगीत २’ हिट भएपछि अब प्रदीपलाई ’प्रेमगीत’ नाम बाहेकका अन्य फिल्म हिट बनाएर देखाउनु पर्ने चुनौती अगाडि आएको छ । बजारमा चलेको बहस भन्छ, ’’प्रेमगीत २’ हिट हुनुमा ’प्रेमगीत’ आफैमा एक ब्रान्ड नाम हो । अब प्रदीपले यो नाम बाहेकका अन्य फिल्मबाट आफूलाई सफल सावित गरेर देखाउनु पर्छ ।’ बजारमा चलेका बहसहरुले मात्र होइन प्रदीप आफैका लागि पनि अब यो ठूलो चुनौती बनेको छ।

प्रकाशन मिति–२०७४ साल साउन २१ गते शनिवार ।