काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदवाट विश्वासको मत पाउन सकेन । प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन्। प्रधानमन्त्री ओली पदमुक्त भएसँगै दुई तिहाइको गौरबशाली कम्युनिष्ट पार्टीको सरकार ढलेको छ। प्रतिनिधिसभाबाट आवश्यक पर्ने विश्वासको मत नपाएपछि सोमबारदेखि प्रधानमन्त्री ओली स्वतः पदमुक्त बनेका हुन्।

प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत पुस्ट्याइँका लागि भएको मतदानमा हुन्छ भन्ने पक्षमा ९३ मत मात्रै पाए । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत गर्न आवश्यक हुन्थ्यो । प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा १२४ मत खसेको छ।

सोमबार प्रतिनिधिसभामा भएको मतदानमा २३२ सांसदहरु सहभागी थिए । तीमध्ये १५ सांसदहरु तटस्थ बसेका थिए। एमालेको माधव नेपाल पक्षका सांसद अनुपस्थित रहे । त्यस्तै राप्रपा सांसद राजेन्द्र लिङ्देन पनि अनुपस्थित रहे। ओली पदमुमक्त भएसँगै अब नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको छ।

जसका लागि नेपाली काँग्रेसले बहुमत आफूसहितको गठबन्धनको पक्षमा रहेको दावी गर्दै राष्ट्रपतिसमक्ष मागदाबी प्रस्तुत गर्ने तयारी गरिरहेको छ। अर्कोतर्फ केपी ओलीले फेरि संसद विघटन गर्ने या ठूलो दलको हैसियतले आफैं सरकारको दाबी गर्ने आशंका पनि विपक्षी दलका नेताहरुले गरेका छन्।

मतदानअघि संसदमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिए संसद विघटन नहुने बताएका थिए। यसले पनि विपक्षीहरुमा थप आशंका बढाएको छ। नेपाली कांग्रेसले बहुमतको दाबी प्रस्तुत गर्न नसकेमा संसदको ठूलो पार्टीको हैसियतले नेकपा एमालेलाई नै सरकार गठन गर्न राष्ट्रपतिले दिने छन्। जसवाट फेरिपनि केपी शर्मा ओली प्रधानमन्त्री बन्ने अर्को मौका जीवितै रहेको छ।
प्रकाशन मिति–२०७८ साल बैशाख २७ गते सोमवार ।