काठमाडौं। विगत ११ वर्षदेखि नियमित रुपमा प्रकाशन हुँदै आइरहेको फिल्मीखबर साप्ताहिकले आफ्नो ११ औं वार्षिकोत्सवका अवसरमा सम्मान एवं पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। फिल्मीखबर चलचित्र वर्ष व्यक्ति एवं फिल्मीखबर सविन स्मृति रंग पत्रकारिता पुरस्कार घोषणा गरेको हो।

फिल्मीखबर चलचित्र वर्ष व्यक्तिका रुपमा यस पटक पुरुषतर्फ निर्देशक प्रदीप भट्टराई र महिलातर्फ गायिका मेलिना राई चयन भएको फिल्मीखबर साप्ताहिकले जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको छ।
यस्तै गतवर्षबाट फिल्मीखबर साप्ताहिकले वरिष्ठ रंग पत्रकार सविन शाक्यको स्मृतिमा स्थापना गरेको फिल्मीखबर सविन स्मृति रंग पत्रकारिता पुरस्कार यस वर्ष रंग पत्रकार सुमन वैरागीलाई प्रदान गरिने भएको छ।

वार्षिकोत्सवकै दिन विशेष कार्यक्रम गरेर सम्मान एवं पुरस्कार प्रदान गर्दै आएकोमा यस पटक कोरोना भाइरस प्रकोपका कारण केही दिनपछि मात्र कार्यक्रम गरि सम्मान र पुरस्कार प्रदान गरिने फिल्मीखबर साप्ताहिकका प्रधान सम्पादक शान्तिप्रियले बताएका छन् ।

प्रियका अनुसार, वर्ष व्यक्तिका लागि ट्रफी, प्रमाणपत्र सहित पुरस्कारहरु एवं रंग पत्रकारिता पुरस्कारमा प्रमाणपत्र एवं नगद राशी ११०११।– (एघार हजार एघार रुपैया मात्र) सहित सम्मान पुरस्कार प्रदान गरिने भएको छ ।
प्रकाशन मिति–२०७६ साल फागुन २९ गते विहीवार ।