–मदनकृष्ण श्रेष्ठ
आज पौष १४ गते !
मेरी श्रीमती बाँचीरहेकी भए, आज हामी उनको जन्मोत्सब मनाईरहेका हुन्थ्यौँ ।
संगै हुँदा हाम्रो जीवन खोला वारी र खोला पारीको बर र पिपल जस्तो हैन कि एउटै चौतारीमा उभिएर रमाई रहेका बर पिपल जस्तै थियौं ।

दरिलो, भरिलो, रसिलो, हँसिलो र जीवन्त थियो जिन्दगी ।
मेरो त्यो चौतारीको लहलहाउँदो पिपलको रुख ढलेको नि अब त दुई बर्ष नौ महिना भैसकेछ।

एक दिन पोखराबाट सुप्रसिध्द गीतकार
श्री प्रकट पगेनी शिबजीको फोन आयो र भन्नुभो, “मदनकृष्णजी मैले तपाईँलाई नै सम्झेर एउटा गीत लेखेर मेसेन्जरमार्फत पठाई दिएकोछु–एक पटक हेर्नुस न है”
गीत पढेँ एकदमै मन पर्यो। छोरी सराना श्रेष्ठलाई पढेर सुनाउँदा उनले एकदमै मनपराईन । छोरा यमनले त झन तुरुन्त संगीतै भरीदियो ।

हुन त मेरो स्वरले पनि अब त मसंग सोसियल डिस्टायन्स मेन्टेन गर्न थालिसकेको छ ।तैपनि पोखरा निवासी श्री प्रकट पगेनी शिबजीको शब्द, छोरा यमन श्रेष्ठको संगीतमा एउटा यो गीत गाएर महसंचारको यु्ट्यूबमा राखेको छु ।

मेरा लागि माया र आशिर्बादका महासागर समान दर्शक श्रोताहरुले मेरो नयाँ गीत लाई हेरेर सुनेर मनमनै गुनेर कमेन्ट पनि गरीदिनुहोला ताकि मलाई अझ केही गर्न जोश र जागर जागोस ।
यो नयाँ गीतको सुन्दर शब्द हुन–
बर ढले पिपल एक्लै, पिपल ढले बर
जो ढले नि चौतारीको छाती चररर

(ख्यातिप्राप्त कमेडी किङ मदनकृष्ण श्रेष्ठले पत्नी यशोदा सुवेदी श्रेष्ठको जन्म दिनको अवसरमा श्रद्धाञ्जली स्वरुप कोरेका यी मर्मस्पर्शी शव्द यहाँ जस्ताको तस्तै राखिएको छ।–समाचार सम्पादक।)
प्रकाशन मिति–२०७७ साल पुस १४ गते मंगलवार ।