काठमाडौं। बलिउडका चर्चित संगीतकार वाजिद खानको निधन भएको छ। आइतबार राती उनको ४२ बर्षको उमेरमा निधन भएको हो। बलिउडमा साजिद–वाजिदको जोडी सर्वाधिक चर्चित मानिछ। वाजिद लामो समयदेखि किड्नीको बिरामी थिए।

वाजिदको मुम्बइको एक अस्पतालमा उपचार भैरहेको थियो। तर, स्वास्थ्य अवस्था झनै खराब भएपछि उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। साजिद–वाजिद बलिउड नायक सलमान खानको मनपर्ने संगीतकार हुन्। इदको अवसरमा सलमानले सार्वजनिक गरेको ‘भाई भाई’ बोलको गीतमा साजिद–वाजिदको संगीत थियो ।

सन् १९९८ मा सलमान अभिनित चलचित्र ‘प्यार किया तो डरना क्या’बाट वाजिदले बलिउडमा संगीतको काम सुरु गरेका थिए। यसका साथै उनले ‘दबंग ३’को सबै गीतमा संगीत भरेका थिए। उनले ‘मेरा ही जलवा, सोनी दे नखरे, माआअल्लाह, डू यु वन्ना पार्टनर’ लगायतका हिट गीतमा संगीत भरेका छन्।

वाजिदले सन् २०११ म ‘फिल्मफेयर अवार्ड’मा उत्कृष्ट संगीतकारको अवार्ड पनि प्राप्त गरेका थिए। वाजिदको निधनले सिंगो बलिउड नै स्तब्ध बनेको छ। केही साता अगाडि मात्र बलिउडका दुई चर्चित कलाकार इरफान खान र ऋषि कपुरलाई दुःखद निधन भएको थियो।
प्रकाशन मिति–२०७७ साल जेठ १९ गते सोमवार ।