काठमाडौं। कोरोनाभाइरसबाट बच्न मास्क, सेनिटाइजर जस्ता अत्यावश्यक सामाग्रीहरुको अभाव भएको समाचार सार्वजनिक भैरहेको बर्तमान अवस्थामा बलिउड अभिनेत्री विद्या बालनले घरमै मास्क बनाउने सजिलो तरिका सिकाएकी छन्।

घरमै बनाएको मास्कबाट पनि अरूको थुक एवं संक्रमणबाट आफूलाई बचाउन सकिने जिकिर गर्दै अभिनेत्री विद्या बालनले मास्क बनाउन सिकाएकी हुन् । उनले घरमै मास्क बनाएर लगाउने तरिकाबारे एउटा भिडियो नै बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन्। उनले मास्क बनाएको त्यो भिडियो हाल यतिखेर चर्चामा छ।

बजार बन्दका कारण बाहिर मास्क तथा कपडा किन्न जान नसक्ने अहिलेको अवस्थामा घरमै पुराना सारी तथा ब्लाउजबाट मास्क बनाउने तरिका यी अभिनेत्रीले सिकाएकी हुन् । जसमा उनले कैंचीले ब्लाउज काटेर आफैंले इलास्टिक हालेर मास्क सिलाएर लगाएकी छन्।

कोरोनाबाट जोगिन उनले मास्क बनाउने तरिकासहितको यसरी घरमै मास्क बनाउन सकिन्छ भन्ने सन्देश भिडियोमार्फत दिएकी छन् । आफूले मास्क बनाएको भिडियो इन्स्टाग्राममार्फत सार्वजनिक गर्दै उनले भनेकी छन्, ‘शहर मात्र हैन, ग्रामीण क्षेत्रमा पनि महिला दिदीबहिनीहरूसँग पुराना सारी तथा ब्लाउज हुन्छन् । यस्ता सारी तथा ब्लाउजबाट हामीले घरमै मास्क बनाएर अहिलेको अवस्थामा कोरोनाको महामारीबाट केही हदसम्म आफूलाई जोगाउन सक्छौं।’

बजारमा मास्क नपाएको बेला घरबाट बाहिर तरकारी किन्न र अन्य कामका लागि जाँदा यस्तो मास्क उपयोगी हुने पनि अभिनेत्री विद्या बालनको जिकिर छ।

प्रकाशन मिति–२०७७ साल बैशाख ११ गते विहीवार ।