ललितपुर । विश्वलाई आक्रान्त पारिरहेको कोरोनाको महामारी नेपालमा पनि समुदायमा नै फैलिसकेको अवस्था रहेको छ। यसवाट बच्न र बचाउन नेपाली जनता आफै सजग तथा सचेत हुनु आवश्यक छ।

कोरोनाको महामारीवाट बच्न र बचाउनको लागि बहुउपयोगी आयुर्वेदिक औषधि गुर्जो उपयोगी मानिएको छ। रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने, रुघा–खोकीको लागि अति उपयुक्त प्राकृतिक विरुवा गुर्जोको बेर्नालाई देशभर निःशुल्क वितरण गर्ने कार्यमा अग्रज सामाजिक अभियन्ता तथा लाहान कर कार्यालयका कार्यालय प्रमुख कमलबहादुर राजलवटको निरन्तरता कायम रहेको छ।

यसक्रममा धार्मिक–सामाजिक अभियन्ता तथा मानवअधिकारकर्मी एवम् नामी साप्ताहिकका ललितपुर जिल्ला सम्पादक नारायण लिंखा देवानको कार्यक्रम संयोजनमा राजलवटले ललितपुर महानगरपालिका वडा नंबर १५ भेल्पा स्थित प्रगतिनगर टोल विकास संस्थामा आयोजित कार्यक्रममा सर्वसाधारणलाई निःशुल्क गुर्जो बेर्ना वितरण तथा रोपण कार्यक्रम भएको हो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ ललितपुर शाखाका कोषाध्यक्ष रामहरि कार्की, टोल विकास संस्थाका अध्यक्ष रामवहादुर थापा, भूपु अध्यक्ष ऋषिराम भेटवाल, ललितपुर वडा नंंबर १५ की महिला सदस्य शशिकला सुवेदी, कमलवहादुर राजलवट, नारायण लिंखा देवान र रामहरी कार्कीद्वारा बहुउपयोगी आयुर्वेदिक औषधि गुर्जोको बृक्षारोपन गर्ने कार्य भएको थियो। आफू देशभर एक घर एक गुर्जोको बिरुवा रोप्नुपर्ने यो अभियानमा जुटेको अभियानकर्मी राजलवटको भनार्इ रहेको छ।

गुर्जोको धुलो मधुमेह, उच्च रक्तचाप, ग्याष्ट्रिक, माइग्रेसन, मौसमी रुघा खोकी लगायत रोगका लागि पनि औषधीको काम गर्ने पनि जानकारी गराइएको थियो। खाली पेटमा मनतातो पानीमा गुर्जोको धुलो राखेर खाएमा ताजा अनुभव हुनुको साथै यसले शरीरभित्र रहेका कीटाणु मारी मानिसलाई स्फूर्ति दिन्छ। गर्भवती महिला र ५ वर्ष मुनिका बालबालिकाका लागि भने गुर्जो सेवन गराउन नहुने पनि कार्यक्रममा राजलवट र देवानले सवैलाई अवगत गराएका थिए।


प्रकाशन मिति–२०७७ साल कात्तिक १५ गते शनिवार ।