ललितपुर। नेपालमा अघिल्लो स्थानीय निर्वाचनवाट नै बाजिगर मेयरको नामवाट चर्चा पाएका चिरिबाबु महर्जन फेरि बाजिगर बनेका छन्। हुन त अघिल्लो निर्वाचनमा जस्तो नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवासंग यसपालि बाजी नराखेपनि स्थानीय निर्वाचनको प्रकृयागत रुपमा मतगणना हुदैगर्दा प्रारम्भिक चरणमा प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले भन्दा धेरै मत पाएर निर्वाचित हुने जिकिर गरेका थिए।

सोही जिकिर बमोजिम नै चिरिबाबु महर्जनले मेयरमा दोश्रो पल्ट बाजी मारे बराबर भएको हो। उनै बाजिगर चिरिबाबु महर्जन ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसवाट उम्मेदवार बनेर भारी मतवाट विजयी बनेका छन्। महर्जनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार १ सय ६२ मतान्तरले पराजित गरेका छन् । ललितपुरमा ८६ हजार ५ सय ४० मत खसेकोमा महर्जनले ४२ हजार ७ सय २२ मत ल्याए भने व्यञ्जनकारले २४ हजार ५ सय ६० मात्र मत ल्याउन सफल भए ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि दुवै जना आमनेसामने भएका थिए । त्यतिबेला महर्जनले ३ सय २६ मात्र मत अन्तरले व्यञ्जनकारलाई हराएका थिए । त्यतिबेला महर्जनले २४ हजार ६ सय ४२ मत प्राप्त गर्दा व्यञ्जनकारले २४ हजार ३ सय १६ मात्र मत प्राप्त गरेका थिए। उपमेयरमा भने नेकपा एमालेका मञ्जली शाक्य निर्वाचित भएका छन् ।

शाक्यले गठबन्धनबाट उठेका माओवादी केन्द्रका बाबुराज बज्राचार्यलाई ६ हजार ३ सय ३२ मत अन्तरले हराइन्। शाक्यले २५ हजार ८४ मत प्राप्त गरिन् भने बज्राचार्यले १८ हजार ७ सय ५२ मात्र मत प्राप्त गरे । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र वीचको गठवन्धनमा नेकपा एमालेकी शाक्यको उपमेयरमा जित भनेकै शाक्यको छलाङ नै हो।

प्रकाशन मिति–२०७९ साल जेठ १० गते मंगलवार ।