काठमाडौ। भीमसेन लामा नाम जस्तै ज्यानदार ज्यान अनि लामो न लामो कपालका अजङ्ग कलाकारका रुपमा आजभन्दा २५ बर्षअघि लिइन्थ्यो। त्यो बेला भीमसेन लामाले गर्ने चलचित्रका अभिनयमा पनि त्यस्तै डरलाग्दा क्यारेक्टर गर्ने भएकाले पनि उनलाई अजङ्गका मान्छे भन्ने गरिन्थ्यो।

डरलाग्दा भिलेन क्यारेक्टरमा दर्जनौ चलचित्रमा जमेका भीमसेन लामाको खास रुचि चाहि गीत–संगीत नै थियो। गीत–संगीतमा ज्यान छाडेर रमाउने यी अजङ्गका कलाकारलाई समय तथा परिस्थितिले निरन्तर लाग्न दिएन। कला–क्षेत्रवाट नै बेपत्ता हराएका यी अजङ्ग कलाकार भीमसेन लामा यतिखेर भीमसेन टी लामा नामले कमब्याँक बनेका छन्।

मुसुक्क हाँसिदिदा ज्यानै लियो बोलको गीत लिएर गजबले कमब्याँक बनेका गायक भीमसेन लामाको गीत तथा गीतको भिडियोलाई सर्वाधिक रुचाइएको छ। भिडियोमा गायक लामा आफै डिजे बनेर मज्जाले अभिनय गर्दा सवैको ज्यानै लुटिदिएका छन्। गीतमा विश्व वल्लभको शब्द र ख्यातिप्राप्त संगीतकार शंभुजीत बाँस्कोटाको संगीत रहेको छ। गीतको रि–एरेन्ज भने बिकाश भुजेलले गरेका हुन्।

भकारी एमडिसीको स्वामित्वमा रहेको अडियो तथा भिडियोलाई सन्जय पाण्डेले निर्देशन गरेका छन्। डिजे डान्स पार्टी भित्रको एक जोडीको रोमान्सलाई पस्किएको भिडियो निकै आकर्षक बनेको छ।

भिडियोमा श्याम पाण्डे र बिनिता ओलीको अभिनय रहेको छ। डिजे भने गायक भीमसेन टी लामा आफै बनेका छन्। उनीहरुलाई बिनोद तामाङले कोरियोग्राफी गरेका छन् । चक्र महर्जन र सत्यन श्रेष्ठको संयुक्त छायांकन रहेको भिडियोलाई नीर तामाङले सम्पादन गरेका हुन्।

प्रस्तुत छ–भीमसेन टी लामाको ज्यानै लुटाउने यो डान्सिङ गीतको भिडियो।

प्रकाशन मिति–२०७४ साल पुष २४ गते सोमवार ।